पूर्वी नवलपरासी — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् । ‘एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को हातमा टिकट दिन्छौ भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता जनाउनै पर्छ,’ उनले भने ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–७ शिवपुरगढीमा शनिवार बिहान आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचारले देश बर्बाद भएको बताए । राप्रपाले भ्रष्टाचार शून्यमा झार्ने र जनताका पक्षमा काम गर्ने लिङ्देनको भनाइ थियो ।

निर्वाचनमा असल मान्छे र राम्रो पार्टीलाई विजयी नगराएसम्म जनताले दुःख पाइरहने उनले बताए । ‘निर्वाचन त्यस्तो अवसर हो जहाँ जनताले साँच्चै काम गर्ने मान्छे छान्ने अवसर पाउँछन्,’ उनले भने, ‘असल नीति भएको पार्टी र नेतालाई विजयी गराए जनतालाई सुख हुने र पैसाको प्रलोभनमा परे वर्षौंसम्म पछुताउन पर्ने बताए ।’

राप्रपाले जिते कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने पनि लिङ्देनले बताएका छन् ।

https://unelma.io/Z5fNI