नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएकाे छ ।

भोलि साेमबारदेखि उपलब्ध हुने याे अफरमा कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ ।

अबदेखि रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने टेलिकमले जनाएकाे छ ।यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डेटा तथा प्याक अवधिमा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध छ ।

टेलिकमले स्प्रिङ अफर अन्तर्गत ग्राहकहरुको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महसुलमा कुराकानी गर्न सकिने ‘अल नेट भ्वाइस प्याक’ उपलब्ध गराएकाे जानकारी दिएकाे छ ।

‘सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकहरुको रुचि अनुसारका केही प्याकहरुको मूल्य अझै कम गरिएको समेत कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध हुनेछ ।

यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरु उपलब्ध हुनेछन् । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने जनाइएकाे छ ।