तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–कोत्रे सडक खण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी–२ हलेदीमा सडक मर्मत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।  

घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी तीर्थराज खनालले बताउनुभयो । स्थानीयवासीले शुक्रवार कोत्रेमा १५ मिनेट र शनिवार हलेदीमा ३० मिनेट राजमार्ग बन्द गरेका छन् । 

'हामीले राज्यलाई तिर्नुपर्ने सब कर तिरेका छौँ, तर पनि हाम्रो माग पूरा हुँदैन, सधैँ धुलो खाएर बस्नुपरेको छ', उहाँले भन्नुभयो ।  सडक डिभिजन कार्यालयमा विभिन्न मितिमा डेलिगेशन गएर सडक मर्मतको माग गरिए पनि सुनुवाइ नभएको स्थानीय युवा शङ्कर पन्तले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि ठेक्का लागिसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने बताएको पन्तले बताउनुभयो । 'सम्बन्धित निकायमा गयो, माग सुनुवाइ हुँदैन, आन्दोलन गर्नुको विकल्प छैन', उहाँले भन्नुभयो । 

सडक खण्ड धुलाम्य हुँदा यस ठाउँका स्थानीयवासीका अलवा राजमार्ग भएर यात्रा गर्ने नागरिकले पनि सास्ती भोग्दै आएका छन् । यस ठाउँको विभिन्न खण्डमा सडक भत्किँदा दुई पाङ्ग्रे गाडी दुर्घटनामा पर्ने गरेका छन् ।

https://unelma.io/A1mi8