अमेरिकी लेखक फ्रयाङ्कलिन आडमले भनेका छन्, ‘निर्वाचनमा जसले विजय हासिल गर्छ, त्यो उसका पक्षमा मतदान गरेका कारणले हैन कि अरू कसैका विरुद्ध मतदान गरिदिएका कारणले भएको हो ।’

मतदान दानमध्येको अब्बल दान भन्ने गरिन्छ, तर दान गर्न लायक असल मान्छेको अभावमा मतदाताहरूले गलतहरूका विरुद्ध मतदान गर्दैगर्दा परिणामस्वरूप कसैले जितिदिन्छ । यद्यपि, जित्नेहरू भने गर्वका साथ भन्ने गर्छन्- मैले जितें । ‘मैले जितें’ भन्ने अवस्था त्यतिबेला मात्रै आउनेछ, जतिबेला मतदाताहरूलाई निर्वाचनमा खडा भएका उम्मेदवारहरूलाई अस्वीकार गर्ने समेत अधिकार दिइन्छ ।
https://unelma.io/ReVh

आगामी ३० गते हुँदै गरेको स्थानीय निर्वाचन कसैलाई पनि मत दिन्नँ भन्न नपाउने निर्वाचनका रूपमा दर्ज हुनेछ । निर्वाचनमा कसैलाई पनि मतदान गर्दिनँ भन्न पाउने अधिकार अर्थात् राईट टु रिजेक्टका बारेमा यस आलेखमा चर्चा गरिनेछ ।

चुनावमा योग्यता पुगेका मानिसहरूले उम्मेदवारी दिने र उम्मेदवारी दिएकाहरू मध्येबाट म कसैलाई पनि मतदान गर्दिनँ वा फलानालाई मतदान गर्छु भनेर मत संकेत गर्ने प्रक्रिया मतदान हो र मतदानको परिणाम विजय वा पराजय हो । निर्वाचनको यो लोकतान्त्रिक प्रक्रियालाई आधुनिक लोकतन्त्र अवलम्बन गर्ने मुलुकहरूले अपनाइआएका छन् । कसैलाई पनि मतदान गर्दिनँ भन्ने मत संकेत गर्ने विकल्प उपलब्ध नहुँदा बहिष्कार गर्ने, निर्वाचन प्रक्रिया बिथोल्ने वा न्यून मतदानको प्रक्रिया मार्फत निर्वाचनको वैधतामाथि प्रश्न खडा गरिदिनेसम्मको अवस्था आइपर्दछ ।