स्थानीय तहको उम्मेदवार मनोनयन दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय रणभूमिमा परिणत भयो। चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी–समाजवादीबीच बनेको गठबन्धनमा असन्तुष्टि पैदा हुँदा झडपको स्थिति पैदा भयो।

माओवादी–माओवादी नै झडप र हानठोकमा उत्रिँदा निर्वाचन अधिकृतको कार्यालय युद्धभूमिमा बदलियो। एकल जित्ने वडा समाजवादीलाई दिएको र टिकट बाँडफाँडमा नेतृत्वले मनोमानी गरेको भन्दै कार्यकर्ता नेतृत्वमाथि नै जाइ लागे। मनोनयन दर्ताको क्रममा झण्डै एक घण्टा माओवादी–माओवादी नै भिडे। निर्वाचन अधिकृतको कार्यालय रहेको चौतारा साँगाचोकगढी नगपालिका भवनको झ्याल ढोकाका अधिकांश सिसा फुटाइएका छन्। उनीहरुले भवनमा ढुंगा बर्साएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो।

साना दल र स्वतन्त्र उम्मेदवारले आइतबार नै उम्मेदवार मनोनयन दर्ता गरेका थिए। एमाले, कांग्रेस, माओवादी केन्द्र, समाजवादी र राप्रपालाई मनोनयनको लागि सोमबारको समय छुट्याइएको थियो। सुरुमा कांग्रेस तथा त्यसपछि क्रमशः एमाले र राप्रपाले शान्तिपूर्ण ढंगले उत्साहका साथ मनोनयन दर्ता गराए। सबैभन्दा पछाडि अपराह्न मनोनयन दर्ता गर्न अघि बढेको माओवादी–समाजवादीको र्‍यालीमै धकेलाधकेल सुरु भएको थियो।

1650893993_%E0%A4%B2%E0%A4%B7%E0%A4%9A%E0%A4%A7%E0%A4%AC%E0%A4%85%E0%A4%9C%E0%A4%AC%E0%A4%B2%20%E0%A4%AC%E0%A4%AE%E0%A4%9C%E0%A4%B7%E0%A4%AA%E0%A4%9A%E0%A4%B7%E0%A4%A4.jpg

१४ वटा वडा रहेको यो नगरमा माओवादी र समाजवादीबीच गठबन्धन बनेको छ। उपप्रमुख तथा वडा नं. १ र १० समाजवादीलाई दिइएको थियो। यसैमा माओवादी कार्यकर्ताको असन्तुष्टि थियो। त्यहीमाथि बिनासल्लाह वडा नं. १४ मा कनिष्टलाई वडाध्यक्षको टिकट दिएपछि माओवादी कार्यकर्ता आगो बनेका थिए। जुलुसकै क्रममा उनीहरुले माओवादीका प्रमुखका उम्मेदवार कृष्णप्रसाद सापकोटामाथि हातपात प्रयास गरेका थिए। समाजवादीका नेता सोम सापकोटा र सुवास कर्माचार्यसमेत निशानामा परेका थिए।  

प्रमुखका उम्मेदावार सापकोटा मुश्किलले कार्यालयभित्र पुग्नासाथ सुरक्षाकर्मीले गेट बन्द गरेपछि माओवादी कार्याकर्ताले कार्यालय चारैतिरबाट घेरा हालेर ढुंगा, लाठी प्रहार गरे। उनीहरुले कार्यालयको घेरावार तोड्ने प्रयास गरेका थिए। फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै भित्रै प्रवेश गरेर उनीहरुले माओवादीले एक्लै जित्ने वडा समाजवादीलाई दिएको रिस भवनमा ढुंगामुढासाथ तोडफोड गरेर फेर। मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको यहाँ सुरक्षा व्यवस्था निकै फितलो थियो। ढुंगामुढा, लाठी प्रहार, भागदौड र कोलाहलले अधिकृतको कार्यालयको दृश्य युद्धभूमिभन्दा कम थिएन।

https://unelma.io/1airi