अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन्।

बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित सञ्चाचालन र गुणस्तर प्रमाणीकरणका विषयमा छलफल भएको थियो। 

सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि घटाउनुपर्ने दबाब रहेको बताए।

 

‘दुई महिनादेखि मैले धानको उन्नत बिउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु। तर तपाईंहरू (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन,’ उनले भने। मन्त्री शर्माले नेपालमा सूचिकृत भएका उन्नत जातको धान बिउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीबार पुनः छलफलमा आउन निर्देशन दिएका छन्। 

'हामीले उन्नत जातको बिउ प्रयोग गर्‍यौं भने यसै वर्षदेखि कम्तीमा तीन गुणा बढी धान उत्पादन गर्ने देखिन्छ। यो काम गर्न ढिला नगरौं,' उनले भने, 'मंसिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नु पर्दैन।’

उन्नत जातको बिउ किन्न किसानलाई महँगो पर्ने भएमा अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उनले बताए। 

 

'उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भन्नुहोस्, हामी दिन्छौं। थोरै पैसा खर्च गर्दा अर्बौंको चामल आयात घटाउन सकिने देखिएको छ,’ अर्थमन्त्री शर्माले भने।

छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताएका छन्।  

‘सरकारले बोलाएर काम दियो भने उनीहरू उत्साहित हुन्छन्,’ सचिव मरासिनीले भने।  

छलफलमा कृषि सचिव डा. गोविन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचिकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको जानकारी गराए। धानको उत्पादकत्व औसतमा ३.५ मेट्रिक टन प्रति हेक्टर रहेको जानकारी दिँदै उनले उन्नत जातको बिउ बितरण गरे उत्पादनमा धेरै सुधार हुने धारणा राखे।

https://unelma.io/rQgbn