सामाजिक सञ्जाल फेसबुकमा सक्रिय भइरहँदा हामी कतिपय अवस्थामा एउटै विज्ञापन देखिएर हैरान भएको हुनसक्छौं । आज हामी त्यस्ता विज्ञापन कसरी हटाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्छौं ।

सबैभन्दा पहिले फेसबुकमा कुन पेजले विज्ञापन गरेको हो भन्ने कसरी जान्ने भन्नेबारे बुझौं । प्रायः तपाईं आफूले कहिल्यै लाइक नगरेको वा नाम नसुनेको पेजबाट पोस्ट देखिरहनु भएको हुनसक्छ । प्रयोगकर्तामा त्यस्ता पेजबाट आएका पोस्ट नै विज्ञापन हुन् भन्ने भ्रम हुनसक्छ ।

कतिपय अवस्थामा पेजले तपाईंको रूचि अनुसार पोस्ट सजेस्ट (सुझाव) गरेको हुनसक्छ । विज्ञापन, तपाईंले देखेकै अथवा तपाईंले लाइक गरेकै पेजबाट पनि आउनसक्छ अथवा कहिल्यै नदेखेको पेजबाट पनि आउनसक्छ ।

यदि कुनै पनि पेजको पोस्ट आफ्नो न्युज फिडमा देखियो, र सो पोस्ट कति समयअघि अपलोड गरिएको थियो भनेर समय देखाउने ठाउँमा स्पोन्सर्ड (Sponsored) लेखिएको छ भने त्यो विज्ञापन गरिएको पोस्ट हो भन्ने बुझ्नुपर्छ ।

फेसबुकले देखाउने विज्ञापन सधैंका लागि रोक्न भने सकिँदैन । विशेषगरी फेसबुकको विज्ञापन सुविधा प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो रूचि अनुसारका कुरा प्रचार गर्नसक्छन् ।

यसले गर्दा प्रचार गर्ने व्यक्तिले चाहेको कुराको प्रचार त हुन्छ नै, साथै त्यसले उनीहरूको व्यापारलाई बढावा दिएको हुन्छ । तर, सधैं यस्तो हुन्छ बन्ने हुँदैन ।

उदाहरणका लागि कतिपय अवस्थामा कुनै पेजहरूले विभिन्न सेवाको आश्वासन देखाएर स्प्याम लिङ्क फैलाइरहेका हुन्छन् । जसले तपाईंका डेटाहरू सङ्कलन गर्न वा आइडी ह्याक गर्न त्यस्ता उपाए अपनाएका हुन्छन् ।

यदि कुनै कम्पनी वा व्यक्तिको पेजबाट एउटै विज्ञापन बारम्बार आइरहेको छ वा स्प्याम फैलाउने लिङ्क आइरहेको छ भने त्यसलाई हटाउन सक्नुहुन्छ ।

यदि कुनै पेजको विज्ञापन न्युज फिडमा आएर हैरान हुनुभएको छ भने, त्यस्ता पेजबाट आउने विज्ञापन सधैँका लागि हटाउनका लागि निम्नसारका विधि अपनाउन सक्नुहुन्छ ।

-सबैभन्दा पहिले फेसबुकमा जानुहोस् ।

-त्यसपछि वायाँपट्टी देखाएको तीनवटा बारमा ट्याप गरी सेटिङ एण्ड प्राइभेसीमा जानुहोस् ।

-त्यसपछि सेटिङमा जानुहोस् । सेटिङमा गइसकेपछि नयाँ पेज खुल्छ । त्यसलाई स्क्रोल गरेर तलपट्टि जानुहोस् ।

-तल गएपछि एउटा पर्मिसन (Permission) भन्ने सेक्सन देखिन्छ ।

-त्यसपछि त्यसको पहिलो अप्सन एड प्रिफेरेन्समा ट्याप गर्नुपर्ने हुन्छ ।

-त्यसमा क्लिक गरि सकेपछी एउटा पेज खुल्छ जहाँ तपाईंले आफ्नो फिडमा विज्ञापन देखिरहेका पेजको नाम देखिन्छ । जसको छेउमा हाइड एड्स लेखिएको हुन्छ ।

-तपाईंले हाइड एड्समा क्लिक गर्नुभयो भने त्यो पेजबाट विज्ञापन देखिन छाड्छ ।

त्यस्तै यही पेजमा तपाईंले आफूले हाइड गरेका पेजहरू देख्न सक्नुहुन्छ । आफूलाई त्यस्ता पेजबाट विज्ञापन आइरहोस् भन्ने लाग्यो भने त्यसको तल रहेको एड्भर्टाइजर यु ह्याभ हिडन (Advertise you’ve hiden) भन्ने अप्सन देखिन्छ । त्यसबाट तपाईंले आफूले पहिले विज्ञापन बन्द गरेका पेजहरू देखिन्छन् ।

त्यसैको तल तपाईंले आजका मितिसम्म कुन कुन पेजका विज्ञापनमा क्लिक गर्नुभयो भन्ने कुरा हेर्न सकिन्छ । तपाईंले आफूले पहिले क्लिक गरिसकेका एडहरू पनि हाइड गर्न सक्नुहुन्छ ।