नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले कयौं बिलासी वस्तुको आयातको लागि प्रतीतपत्र (एलसी) खोलेका छैनन् । गत २१ चैतमा राष्ट्र बैंकले दिएको निर्देशनभन्दा ठीक अघि र पछि सीमित व्यापारिक घरानाले पूर्वसूचनाका आधारमा ठूलाे परिमाणमा एलसी खोलेपछि राष्ट्र बैंक नै विवादमा परेको थियो । यसबारे अहिलेसम्म  मौन रहेको राष्ट्र बैंक मंगलबार सरकारले १० वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेपछि भने नेपाल राष्ट्र बैंकले आफ्नो बचाउमा औपचारिक प्रतिक्रिया दिएको छ । अब भने राष्ट्र बैंक एलसीबारे कुनै निर्देशन नै नदिइएको दाबी गर्न थालेको छ ।

आयात बन्द हुने सूचना चुहाएर कन्टिनेन्टल इन्टरप्राइजेज, विशाल ग्रुप, ज्योति समूह, शारडा ग्रुप लगायतलाई ठूलो मात्रामा मदिरा, चकलेट, गाडी जस्ता वस्तु आयात गर्न दिएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो । तर आयात रोकिनु केही दिनअघि र आयात रोक्न निर्देशन दिइएको चार दिनसम्म खुलेका आयात प्रतीत पत्र (एलसी) मा आफूहरुको कुनै भूमिका नभएको नेपाल राष्ट्र बैंकको दाबी छ ।