झरी पर्दा होस् वा बिजुली चम्कँदा, आफूले प्रयोग गरिरहेका विद्युतीय सामग्री बिग्रिन्छन् कि भन्ने डर धेरैलाई लागिरहन्छ । नेपालको सन्दर्भमा त झन् प्रायः ठाउँमा पानी पर्दा एक्कासी लाइन आउने र जाने गर्छ ।

यसले गर्दा पनि धेरै मानिसहरूमा बिजुली चम्केको वा पानी परेको बेला लाइनमा जोडिएका विद्युतीय उपकरण बिग्रिन्छन् भन्ने भ्रम हुन्छ । के साँच्चै बिजुली चम्केको बेला विद्युतीय उपकरण लाइनबाट निकाल्न आवश्यक छ ?

यदि आवश्यक छ भने किन निकाल्नु पर्छ ? आज हामी यसै विषयमा चर्चा गर्दैछौं । सबैभन्दा पहिलो कुरा गरौं, हामीले प्रयोग गर्ने मोबाइल फोनको । प्रायः हामी सबै आफूसँग भएको फोन बोकेरै बाहिर गएका हुन्छौँ ।

धेरैलाई बिजुली चम्किएको बेला फोनमा कसैसँग कुरा गर्‍यो वा फोन प्रयोग गर्‍यो भने चट्याङ आफूमाथि पर्छ भन्ने भ्रम हुन्छ । सबैभन्दा पहिले के कुरा विचार गर्नुपर्छ भने चट्याङ पर्नु र मोबाइल फोन प्रयोग गर्नुबीच केही सम्बन्ध हुँदैन । डर त्यस्तो बेला बढी हुन्छ, जब फोन कुनै पनि लाइनमा जोडिएको हुन्छ ।

यदि तपाईंको फोन चार्ज अथवा कुनै प्रकारको विद्युत प्रवाह गर्ने माध्यममा जोडिएको छैन भने तपाईं आफ्नो फोन ढुक्कले प्रयोग गर्न सक्नुहुन्छ । चार्जमा जोडिएको छ भने फोनको चार्जर बिग्रिन सक्छ ।

चट्याङको डर त्यो बेला बढी हुन्छ, जब तपाईं त्यसको जोखिम बढी भएको ठाउँमा हुनुहुन्छ । त्यसैले बिजुली चम्किरहेको बेला तपाईं चट्याङको जोखिम बढी हुने हुने ठाउँमा जान हुँदैन । यदि घरभन्दा बाहिर हुनुहुन्छ भने चट्याङ पर्ने सम्भावना धेरै हुन्छ ।

चट्याङको जोखिम प्रायः खुल्ला ठाउँमा, रूखबिरुवा बढी भएको ठाउँमा, धातुले बनेका पोल वा अन्य कुरा भएको ठाउँमा, ताल तलाउ भएको ठाउँमा वा डाँडामा बढी हुने गर्छ । त्यस्तोमा तपाईंले फोन लिएर जानुभएको छ वा छैन भन्ने कुराले कुनै अर्थ राख्दैन । त्यस ठाउँमा चट्याङको जोखिम कत्तिको छ भन्ने कुराले अर्थ राख्छ ।

सामान्य अर्थमा भन्नुपर्दा त्यस्तो ठाउँमा चट्याङको जोखिम बढी हुने गर्छ । घरमा प्रयोग हुने ल्यान्डलाइनको फोनमा भने बढी जोखिम हुन्छ । ल्यान्डलाइन, तारैतारको संयोजनबाट घरसम्म आउने भएकाले त्यसमा भने बढी जोखिम हुने गर्छ । लाइनको माध्यमबाट चल्ने जति पनि उपकरण छन् त्यसमा चट्याङको जोखिम बढी हुन्छ ।

तर, त्यसभन्दा पहिले तपाईं चट्याङको जोखिम कति भएको ठाउँमा हुनुहुन्छ भन्ने कुराले प्रभाव पार्छ । त्यसैले आकाशमा विजुली गडगडाइरहेको बेला तपाईंले लाइनमा जोडिएका उपकरणको कनेक्सन छुटाउनु नै उपयुक्त हुन्छ ।

कुनै बेला कतै टाढा चट्याङ परेको छ भने पनि बिजुलीको तारमा भोल्टेज बढी भएर उपकरणले धान्न नसक्दा उपकरण बिग्रिन सक्छन् । त्यसका लागि घरमा एमसीबी प्रयोग गर्नुभएको छ भने तारबाट बढी भोल्टेज आउँदा सर्किट ब्रेक गर्छ, जसले गर्दा तपाईंको उपकरणसम्म भोल्टेज बढी आउनबाट रोक्छ । फोनका सन्दर्भमा भने चार्जमा राखेको बेलाबाहेक अन्य अवस्थमा केही असर पर्दैन ।
https://unelma.io/b1E4I