भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा प्रालिको अध्यक्षमा बैङ्कर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बैङ्किङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका कुँवरले सन् १९८६ देखि तत्कालीन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।

ईसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार सम्हाल्दै कुँवरले डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन ईसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको र कम्पनीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता गरे ।

ईसेवाका संस्थापक समेत रहेका अस्गर अलीले सञ्चालक पदबाट राजीनामा दिएसँगै कम्पनीको सञ्चालकमा कुँवर नियुक्त भएका हुन् ।

ईसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल/कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । कम्पनीका अनुसार यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६० लाख बढी छ । त्यस्तै ईसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । 
https://unelma.io/DoZY2