सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता विपरितका गतिविधि गरेको खण्डमा साइबर अपराधको मुद्दा चलाइने भएको छ । आम सञ्चार माध्यम नियमनका लागि प्रेस काउन्सिल रहेको भए पनि सामाजिक सञ्जालको नियमन गर्ने अर्को आधार नभएको भन्दै निर्वाचन आयोगले विद्युतीय अपराध ऐनको सहारा लिने भएको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालयका अनुसार यसका लागि  आयोगको आईटी शाखा प्रमुखको संयोजकत्वमा विशेष टास्क फोर्स बनाइएको छ । जसमा साइबर ब्युरोका प्रतिनिधि समेत रहेको उनले बताए । 

सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता उलङ्घन गरेको अवस्थामा कारबाही गर्ने अन्य आधार नदेखिए पछि साइबर अपराध सम्बन्धी मुद्दा आकर्षित हुन्छ,’ टेकपानासँगको कुराकानीमा उनले भने, ‘सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता विपरितका गतिविधि गरेको पाइएमा तथा त्यस सम्बन्धी उजुरी आएको खण्डमा टास्क फोर्सको जिम्मा लगाइनेछ ।’

सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता उलङ्घन भए नभएको अनुगमन गर्ने कार्य टास्क फोर्सको नेतृत्वमा नेपाल प्रहरीको साइबर ब्युरोमार्फत हुने सहायक प्रवक्ता अर्यालले बताए । आयोगले सामाजिक सञ्जालमा भ्रामक समाचारहरू तथा सम्प्रेषण भएका मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति पाइएमा ईमेल गरेर तथा टोल फ्रि नम्बर ११०२ मा फोनमार्फत उजुरी दिन आग्रह गरेको छ । (ईमेलमार्फत आयोगमा उजुरी दिन यहाँ क्लिक गर्नुहोस्)  

आयोगका अनुसार मङ्गलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने र त्यस अघि नै निर्वाचन प्रचार प्रसार सम्बन्धी सामग्री सामाजिक सञ्जालबाट हटाउनुपर्ने र त्यस्ता नयाँ पोस्ट गर्न तथा स्पोन्सर गर्न नपाइने भन्दै सचेत समेत गराइसकेको छ ।  सामाजिक सञ्जालमा के गर्दा निर्वाचन आचार संहिता उलङ्घन हुन्छ, थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 
https://unelma.io/VW6hk