निजी इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान) ले पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएकाे छ ।

मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रहमा कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुनेगरी व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो । तर, सेवा प्रदायकले भने उक्त निर्देशनउपर आवश्यक कार्य गर्न आफूहरु असमर्थ भएको जानकारी गराएका छन् ।

‘एकातर्फ राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभर प्रवाह गर्न भनिरहेको अवस्था छ भने अर्कोतर्फ नेपाल विद्युत प्राधिकरणका क्रियाकलापहरूले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ,’ आईस्पानले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनमा प्रतिकूल असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउँछौ ।’

इन्टरनेट सेवा प्रदायकले नेपाल विद्युत प्राधिकरणले यसअघि भएको अध्ययन प्रतिवेदन कार्यान्वयन नगरी आफूखुसी पोलको भाडा बढाएको आरोपसमेत लगाएका छन् ।

साथै, उक्त मूल्यका आधारमा सम्झौताका लागि नगएको भन्दै विद्युत आपूर्तिमै अवरोध पुग्नेगरी इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिएको र काटिने क्रम बढेकाले नियामक निकायको निर्देशन पालना गर्न असमर्थ रहेको आईस्पानले जनाएको छ ।

‘विद्युत कटौती हुँदा आमउपभोक्ताको घरघरमा बैँक तथा वित्तीय क्षेत्र, उड्डयन क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लगायतका संवेदनशील क्षेत्रमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुनसक्ने स्थिति सृजित भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै इन्टरनेट ब्ल्याकआउट हुन नदिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय लगायत सम्बन्धित नेपाल सरकारका अंगहरुलाई आईस्पानले अपिल गरेकाे छ ।
https://unelma.io/LhTZD