काठमाडौं । सामाजिक सञ्जालको प्रयोग जति बढ्दो छ, यसबाट हुने अपराध पनि फरक-फरक स्वरूपमा बढिरहेका छन् । हिजो जुन तरिकाका साइबर अपराध हुन्थे, आज त्योभन्दा केही नयाँ शैलीबाट घटना भइरहेका छन् । त्यसैले हामी जहिले सजग र सचेत रहन आवश्यक छ ।

 

ह्वाट्सएप, भाइबर, इमोजस्ता मेसेन्जर एपमा तपाईंलाई यति लाखको चिट्ठा परेको छ भन्दै ठगी भइरहेका घटना नौलो होइन । अहिले उही प्रकृतिका घटना फेसबुकमा हुन थालेका छन् ।

फेसबुकमा विभिन्न चर्चित व्यक्तिका भिडिओ लाइभ बनाई त्यसबाट ठगी हुने गरेकाे पाइएकाे छ ।

केही दिनअघि ग्यालेक्सी फोरकेका महाप्रबन्धक तथा सञ्चारकर्मी रवि लामिछानेको विगतको लाइभ भिडिओ एउटा नक्कली आईडीबाट फैलियो । जसमा लामिछानेले ग्यालेक्सी फोरकेमा आउने एक कार्यक्रमका बारेमा जानकारी दिइरहेकाे देखिन्छ ।

 

त्यही भिडिओको अर्को भागमा केही अङ्कहरू मिसाएको फोटो टाँसेर क्याप्सनमा छिटो सही उत्तर मिलाउनेलाई रकम उपहार दिने लेखिएको छ ।

 

त्यसपछि विभिन्न व्यक्तिको इन्बक्समा तपाईंले सही उत्तर मिलाएबापत् एक लाख रकम उपहार छ र सोही रकम पाउन कर तिर्नुपर्ने भन्दै ठगी गरिरहेको घटना ग्यालेक्सी फोरकेको कार्यक्रम सिधा कुराको भाग १०३ मा सार्वजनिक भयो ।

त्यस्तै विभिन्न व्यक्तिलाई त्यस्ता आईडीबाट मेसेज गरी तपाईंलाई चिट्ठा परेको छ र सो रकम प्राप्त गर्न कर तिर्नुपर्ने भन्दै मानिसहरूलाई ठगी गरेकाे पाइएकाे छ ।

ती मानिसहरू जसले आफूले जितेको रकम पाउन इन्बक्समा गरेको मेसेजको प्रतिक्रिया नआएपछि सो रकम लिन ग्यालेक्सी फोरकेको कार्यलयमा आएको लामिछानेले सो कार्यक्रममा बताएका छन् ।

 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसी सामाजिक सञ्जालमा त्यस्ता ठगीका घटना देखे तुरुन्त १०० मा फोन गरेर वा साइबर ब्युरोमा उजुरी गर्न आग्रह गर्छन् ।

उनका अनुसार ह्वाट्सएपमा आउने त्यस्ता नम्बरहरू निश्चित समयका लागि प्रयोगमा ल्याइएकाे हुन्छ । एकपटक उनीहरूको योजना सफल भयो भने उनीहरूले त्यो नम्बर सधैँका लागि बन्द गर्ने गर्छन् । वा त्यस्ता नम्बरहरू भारतीय सीमावर्ती नाकाबाट परिचालन भइरहेका हुन्छन्, जहाँ नेपाली सिमको नेटवर्क आउँछ । जसले गर्दा नेपाली नागरिकलाई नेपाली नम्बरबाट आएको भनेर विश्वास दिलाउँछन् ।

विभिन्न कार्यक्रममा जितेको रकम पाउन बैङ्क अथवा स्थानीय डिजिटल वालेट जस्तै ई-सेवा, खल्ती आदिमा पठाउन आग्रह गर्ने र त्यसरी उपहार वा जितेको चिट्ठा पाउन मानिसहरू मोटो रकम दिएर ठगीमा पर्नसक्ने उनले बताए ।

त्यस्ता घटनाबाट बच्न कसैले पनि सामाजिक सञ्जालमा आएका प्रलोभनमा नपर्न केसी सुझाव दिन्छन् । यदि सामाजिक सञ्जालमा त्यस्ता घटना देखे तुरुन्त नेपाल प्रहरीको नम्बर १०० मा फोन गरी घटनाको जानकारी दिनसक्ने उनले बताए ।

https://unelma.io/tl0WL