शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थानपनबारे परामर्श गरेका छन् । बन्चरेडाडाँमा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो ।

मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साईटको ’सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् ।

उनले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पुरा गर्ने समेत वचन दिइन् । जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीकोे अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताइन् ।

मन्त्री झाँक्री र महानगर प्रमुख साहबीच बन्चरेडाडाँमा फोहोरको वैज्ञानिक व्यवस्थापनबारे समेत छलफल भएको थियो । काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन महानगर प्रमुख साहले आग्रह गरे ।

छलफलमा उपमेयर सुनिता डंगोलको समेत सहभागिता थियो । कामपाको मेयरमा विजयी भए लगत्तै फोहोर व्यवस्थापनका लागि मेयर साहले विशेष सक्रियता देखाएका छन् ।

उनले बुधवार पनि मन्त्री झाँक्रीसँग काठमाडौंको फोहोर व्यवस्थापन र बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट सञ्चालनबारे छलफल तथा परामर्श गरेका थिए । शहरी विकास मन्त्रालयले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट सञ्चालन तथा फोहोर व्यवस्थापन र सिसडोलको पोस्ट क्लोजरबारे केही दिनमै सर्वपक्षीय छलफल गर्ने जनाएको छ ।
https://unelma.io/yzaWU