पछिल्लो समय एसएमएस बाइपास गरी फेसबुक, गुगलजस्ता अन्तर्राष्ट्रिय कम्पनीबाट आउने ओटीपी कोड लगायतका महत्त्वपूर्ण जानकारी व्यक्तिगत मोबाइल नम्बरबाट प्रयोगकर्तालाई आउने गरेको पाइएको छ ।

फेसबुक, जीमेल आदि लगईन गर्न राखिने ‘टु वे भेरिफिकेसन’ अथवा नयाँ डिभाइसमा लगईन गर्दा प्राप्त हुने ओटीपी कोड फेसबुक, गुगलजस्ता कम्पनीकै शर्टकोडबाट नआएर एनसेल र नेपाल टेलिकमले उपलब्ध गराएका मोबाइल नम्बरबाट प्राप्त हुने गरेको हो ।

सामान्यतया यस्ता ओटीपी कोड ‘फेसबुक’ अथवा ‘गुगल’ लेखेको शर्टकोडबाट प्राप्त हुने गर्दछन् । यो सामान्य प्रक्रिया हो । तर, पछिल्लो समय प्रयोगकर्ताले ९८२५५९९७४७, ९८२९६२२८४९२, ९८२५५९९०६८ जस्ता दर्जनौं नम्बरबाट यस्ता कोड प्राप्त गरिरहेका छन् ।

सुन्दा सामान्य लाग्न सक्छ । तर, यो प्रयोगकर्ताको गोपनीयता र सेवा प्रदायकको आम्दानी दुवै हिसाबले निकै संवेदनशील विषय हो ।

हुन त यसरी एसएमएस बाइपास गरी प्रयोगकर्तालाई कोड प्राप्त हुँदा उक्त कोडमा बाइपास गर्नेले पहुँच बनाउन नसक्ने दाबी सेवा प्रदायकहरूको छ ।

तर, जसले अन्तर्राष्ट्रिय गेटवे हुँदै आएको एसएमएसलाई बाइपास गरी आफ्नो नेटवर्कबाट प्रयोगकर्तालाई मेसेज पठाउन सक्छ, उसले त्यस्ता मेसेजमा पहुँच बनाउन नसक्ने कुनै आधार नभएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोय बताउँछन् ।

रोय भन्छन्, ‘एसएमएस प्लेन टेक्स्टमा आउने हो । जसले मेसेज बाइपास गर्छ, उक्त व्यक्तिले आफ्नो सर्भरमा केही समयको लागि स्टोर गरेर प्रयोगकर्तालाई पठाउने हो । त्यसरी सर्भरमा स्टोर हुँदा उसले एक कपी आफूसँग राखेर अर्को एक कपी प्रयोगकर्तालाई पठाउन सक्छ ।’

यसको अर्थ एसएमएस बाइपास गर्नेले चाहेको खण्डमा प्रयोगकर्ताको फेसबुक, जीमेलजस्ता सामाजिक सञ्जालमा सहजै पहुँच बनाउन सक् अर्कोतर्फ यसरी एसएमएस बाइपास हुँदा नेपाल टेलिकम र एनसेल जस्ता मोबाइल सेवा प्रदायकले आफ्नो आम्दानीसमेत गुमाउँछन् । किनभने गुगल, फेसबुकबाट सोझै प्रयोगकर्तालाई कोड आउँदा उक्त मेसेजको भुक्तानी सेवा प्रदायकलाई डलरमा प्राप्त हुन्छ ।

तर, यसरी बाइपास भएर आउँदा भने सामान्य प्रयोगकर्ताले एउटा मेसेज पठाउँदा लाग्ने स्थानीय दर मात्रै सेवा प्रदायकले पाउँछन् ।

अझ दूरसञ्चार सेवा प्रदायकले सेवाग्राहीलाई मासिक रुपमा निःशुल्क एसएमएस पठाउन सकिने सेवा समेत उपलब्ध गराउँदै आएका छन् । त्यसो हुँदा बाइपास गर्नेले उक्त निःशुल्क सेवाको फाइदा उठाइरहेका हुनसक्ने आशङ्का गरिएको छ ।

यसअघि कल बाइपास गरेको आरोपमा धेरै व्यक्तिहरू पक्राउ समेत परेका थिए । एसएमएस बाइपासको विषयमा पनि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

कल बाइपासमा कडाइ हुँदा पछिल्लो समय एसएमएस बाइपासमा संलग्न हुनेहरूको सङ्ख्या बढेको एनसेलले जनाएको छ ।

कम्पनीका अनुसार यस्ता घटना पहिचान गरि नम्बर ब्लक गर्ने, सीआईबीलाई जानकारी दिने लगायतका काम भएको एनसेलले जनाएको छ । साथै प्राधिकरणले पनि यो विषयमा अध्ययन अघि बढाउने बताएको छ । 

के हो एसएमएस बाइपास ?

सामान्यतया मेसेज वा एसएमएस बाइपास भनेको सोझै आउनुपर्ने मेसेजलाई बीचमा छिरेर अर्कै बाटोमार्फत पठाउनु हो । सामान्यतया अन्तर्राष्ट्रिय कल नेपाल भित्रिनका लागि सेवा तीन पक्ष संलग्न हुने गर्छन् ।

एउटा मेसेज पठाउने संस्था (फेसबुक, गुगल जस्ता कम्पनी), दोस्रो त्यस्ता संस्थाले पठाएको मेसेज बोकेर पठाउने क्यारियर र तेस्रो दूरसञ्चार सेवा प्रदायक (एनसेल, नेपाल टेलिकम जस्ता कम्पनी) । यो बीचमा गेटवेले एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गर्दछ ।

एनसेल, टेलिकम, स्मार्ट लगायतले अन्तर्राष्ट्रिय कल तथा एसएमएस नेपाल भित्र्याउन नेपालमा दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स पाएका छन् ।

पठाउने संस्थाबाट नेपालका दूरसञ्चार सेवा प्रदायकको सर्भरमा टर्मिनेट भएर कल तथा एसएमएस आउने प्रक्रियालाई वैधानिक मानिन्छ ।

तर, बीचमा अमुक समूहले नेपाल बाहिरबाट आएको एसएमएसलाई आफ्नो रुटमा डाइभर्ट अर्थात बाइपास गरि अन्तर्राष्ट्रिय एमएमएसलाई लोकल एसएसमएसका रूपमा प्रयोगकर्ताको मोबाइल नम्बरमा पुर्‍याउने काम गरिरहेको छ ।

लोकल नम्बरबाट आएको एसएमएस सस्तो हुने भएकाले सेवा प्रदायकले पनि त्यसै अनुसारको शुल्क असुल्ने काम गर्छन् । जस्तै यदि फेसबुकबाट सोझै एनसेलको सर्भर हुँदै एसएमएस आयो भने कम्पनीले प्रति एसएमएस ७ रुपैयाँ आम्दानी गर्छ ।तर, बीचमा भीओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) अथवा दूरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोमार्फत बाइपास गरी लोकल नम्बरबाट एसएमएस पठाउँदा एकदेखि दुई रुपैयाँमात्रै आम्दानी हुन्छ । यसरी बीचबाट बाइपास गर्ने व्यक्तिले प्रति एसएमएस पाँच-छ रुपैयाँ आम्दानी गर्छन् ।