चितवनमा ८ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ।

भरतपुर महानगरपालिका–८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो।

चितवनमा आगामी आर्थिक वर्ष २०७९/०८० देखि चालक सवारी अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सुरू हुन लागेसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो।

 

ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भइसकेको अध्यक्ष डम्बर बहादुर थापाले जानकारी दिए।

उनका अनुसार ट्रायल सेन्टर असारको पहिलो सातादेखि सञ्चालनमा आउने छ।

२४ सै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने उनले बताए।

 

प्रशिक्षण केन्द्रमा दुईचक्के सवारीदेखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाइएको उनले बताए।  

‘हामीले २४ सै घण्टा प्रशिक्षण दिने उद्देश्यसहितको पूर्वाधार र जनशक्ति तयार पारेका छौं,’ उनले भने, ‘एकैदिनमा ३ हजार जनालाई सेवा दिने क्षमता यो केन्द्रमा रहेको छ।’

यातायात व्यवस्था विभागको निर्देशिका २०७४ बमोजिम नेपालकै सुविधासम्पन्न तथा ठूलो प्रशिक्षण केन्द्र रहेको सञ्चालक आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दाबी गरे।

उनका अनुसार सरकारले प्रशिक्षण केन्द्रलाई छनोट गरेको खण्डमा दैनिक १ हजार जनासम्मले प्रयोगात्मक परीक्षा दिन सक्नेछन्।

प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीको लागि सवारी पार्किङ, खानेपानी, शौचालय, अपांगमैत्री भवन, चमेना गृह र टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवाससहितको सुविधा रहने उनले बताए।

हाल प्रशिक्षण केन्द्रमा १५ ओटा कार, ५० ओटा मोटरसाइकल, २५ ओटा स्कुटर रहेका छन् र अन्य हेभी सवारी साधन आवश्यकता अनुसार उपलब्ध गराइने नेपालले जानकारी दिए।

दक्ष प्रशिक्षक तथा जनशक्ति गरी १०० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाउने छन्।

योसँगै सरकारी मापदण्ड अनुसार चितवनमा सञ्चालनमा आउन लागेका अन्य ६ ओटा सवारी चालक प्रशिक्षण केन्द्र पनि रहेका छन्। 

https://unelma.io/vK1mn