लगातार ८ दिन ओरालो लागेको बजार आज नवौं दिनमा बढेको छ। बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २,०८०.४४ बिन्दुमा पुगेको हो। 

अघिल्लो दिन बजार ४५.५९ अंकले घटेर २०२०.२३ को बिन्दुमा पुगेको थियो। विशेषगरी बजेटले पुँजीगत लाभकर घटाउन सक्ने तथा बजार विकासका लागि नीति ल्याउने अपेक्षामा लगानीकर्ताहरू रहेपनि त्यसो नहुँदा लगातार घटेको बजार थप घटेको हो। 

अर्थ मन्त्रालयको पहलमा चार सदस्य समिति गठन भएको जानकारी बुधबार सार्वजनिक भएसँगै सेयर बजार बढेको हो। नेपाल धितोपत्र बोर्डको ३० ‍औं वार्षिक साधारण सभामा अर्थमन्त्री जनार्दन शर्मा, धितोपत्र बोर्डका अध्यक्ष रमेश लम्साल लगायतले राष्ट्र बैंकले मौद्रिक नीतिमा लिएको प्रावधानहरूमा पुनर्विचार गर्नुपर्ने बताएपछि लगानीकर्ताहरू उत्साहित भएका छन्। 

 

राष्ट्र बैंकले मौद्रिक नीतिबाट सेयर धितो कर्जामा आगामी साउनदेखि एकल ग्राहक कर्जा सीमा लागु हुने व्यवस्था गरेको छ। यसअनुसार एकल ग्राहकले एउटा बैंकबाट बढीमा चार करोड र सबै संस्थाबाट १२ करोड मात्र कर्जा लिन सकिने व्यवस्था गरेको छ। असारसम्म यो सीमामा कर्जा ल्याउनुपर्छ। 

बजार उच्च तहबाट १,१०० अंकभन्दा तल ओर्लिएकोले लगानीकर्ताहरूको मनोविज्ञान खस्किएको थियो। अर्थ मन्त्रालयको यो पहलसँगै भने लगानीकर्ताहरूको मनोबल बढेको छ। यही कारण बुधबार कारोबार रकममा पनि वृद्धि भएको छ। 

आज कुल २३१ किसिमका धितोपत्र तथा ऋणपत्रको ५० लाख ५ हजार ८१४ सेयर किनबेच हुँदा एक अर्ब ६४ करोड ३ लाख ५६ हजार रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिन बजार घट्दा कारोबार रकम जम्मा एक अर्ब ३१ करोड २८ लाख ६ हजार रूपैयाँ पुगेको थियो। 

 

बुधबार २१५ धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने जम्मा ७ वटाको मूल्य घटेको छ। आज सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। यसपछि आज बलेफी हाइड्रोपावरको आज ९.९६ प्रतिशत र कालिका लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशतले बढेको हो।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य बढेको छ। बुधबार सबैभन्दा धेरै ५.०३ प्रतिशत, अन्यको ३.८५ प्रतिशत, नन लाइफ इन्स्योरेन्सको ३.८४ प्रतिशत र माइक्रोफाइनान्सको ३.६४ प्रतिशतले सेयर मूल्य बढेको हो। 

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५ करोड १२ लाख ४० हजार रूपैयाँको सेयर कारोबार भएको छ। 

यसपछि कुमारी बैंकको ४ करोड ९९ लाख १५ हजार रूपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ९४ लाख ३५ हजार रूपैयाँ,  नेपाल इनभेस्टमेन्ट बैंकको ४ करोड ५९ लाख ७४ हजार रूपैयाँ र अपि पावरको ४ करोड ५९ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ। 

https://unelma.io/YIDUn