सुगर भनौं वा मधुमेह, यो रोगलाई अहिले विश्व स्वास्थ्यकै चुनौतीको रूपमा हेरिन्छ । नेपालमा पनि मधुमेह तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो समय युवाहरूमा पनि मधुमेह देखिन थालेको छ । यो रोग यसरी फैलिरहेको छ कि प्रायः घरमा एक जना सुगरको बिरामी भेटिन्छन् ।

यसरी फैलिरहेको सुगरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय महत्त्वपूर्ण छ । एक्कासी सुगर लेभल किन बढ्छ ? एक्कासी सुगर लेभल बढे के हुन्छ ? लगायतका विषयमा केन्द्रित रहेर मधुमेह रोग विशेषज्ञ डा.ज्योति भट्टराईसँग गरिएको कुराकानी :

मान्छेको सुगर लेभल तलमाथि वा घटबढ भइरहन्छ ?

मधुमेहको रोग नभएको व्यक्तिमा सुगर लेभल सन्तुलित नै रहन्छ । तर मधुमेहको बिरामीहरूमा भने सुगर लेभल घटबढ भइरहन्छ । मधुमेह भएका व्यक्तिले यसको सन्तुलन मिलाउन नजानेको खण्डमा यो घटबढ हुन्छ ।

के कस्तो अवस्थामा सुगर लेभल बढ्न सक्छ ?

मधुमेहका बिरामी, सुगर लेभल बढाउने औषधि सेवन गरेको अवस्थामा, खानामा अन्नको मात्रा बढी भयो भने र चिनी तथा चिनीजन्य पदार्थको बढी सेवन गर्‍यो भने सुगर लेभल बढ्न सक्छ ।

अचानक बढेको सुगर लेभल आफैं नियन्त्रणमा आउँछ कि त्यसका लागि औषधि वा उपचार गर्नुपर्छ ?

अचानक बढेको सुगर लेभल आफैं नियन्त्रणमा आउन गाह्रो नै हुन्छ । चिकित्सकको सल्लाह अनुसार खानपानमा नियन्त्रण गर्ने, व्यायाम गरेर शरीरको तौल नियन्त्रण गर्ने गर्दा भने सुगर लेभल बिस्तारै कम हुन्छ । चिकित्सकको सल्लाह अनुसार नै औषधि उपचार पनि गर्नुपर्छ ।

वंशाणुगत कारणले पनि सुगर लेभल बढ्छ अर्थात् मधुमेह हुन्छ ?

जेनेटिक कारणले पनि सुगर लेभल बढ्ने वा मधुमेह हुने सम्भावना धेरै हुन्छ । तर कति प्रतिशत सम्भावना हुन्छ भनेर यकिन रूपमा भन्न भने सकिंदैन ।

कोभिडपछि मधुमेहका बिरामीको संख्या बढेको छ भनिन्छ, त्यस्तो हो ?

कोभिडको तनावले, कोभिडको औषधि प्रयोग र कोभिड संक्रमित भएको व्यक्तिमा इन्सुलिन निकाल्ने प्यानक्रियाजलाई असर गर्छ भनिएको छ । त्यसैले कोभिडपछि धेरैलाई यो समस्या देखिएको छ ।
https://unelma.io/Pnwfz