काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अनुमतिबिना स्याटलाइटमार्फत इन्टरनेट दिने भन्दै फेसबुक लगायतका सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइएकाले त्यस्ता क्रियाकलाप रोक्न निर्देशन दिएको छ ।

 

एक सूचना जारी गर्दै प्राधिकरणले अनुमतिबिना यस्ता सेवा सञ्चालनमा ल्याउनु कानून विपरीत भएको भन्दै कारबाहीको चेतावनी समेत दिएको छ ।

‘दूरसञ्चार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ,’ सूचनामा भनिएको छ, ‘हाल सामाजिक सञ्जालहरूमा अनुमतिपत्र प्राप्त नगरी स्याटलाइट प्रविधिबाट इन्टरनेट सेवाको सञ्चालन/वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएकोले कोही कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन नगर्नू/नगराउनू हुन सूचित गरिन्छ ।’

 

यसरी अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन गर्ने/गराउने जस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाहीसमेत हुने समेत प्राधिकरणले जनाएको छ । यसका साथै यसरी सेवाग्राहीलाई भ्रममा नपर्न समेत प्राधिकरणले आग्रह गरेकाे छ ।

 

यदि प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरको कसैलाई थाहा/जानकारी भएमा प्राधिकरणलाई जानकारी गराउन सूचनामा उल्लेख गरिएकाे छ ।

https://unelma.io/3zrsU