पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएका छन्। 

आँबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो। 

सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ।

 

शुक्रबार बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुनसक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ। 

सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो। 

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले सडकखण्ड करिब २० मिटर भाँसिएकोले सडक बनाउन केही समय लाग्‍ने भएको हुँदा ठूला सवारीसाधन नचल्‍ने बताएका छन्। 

 

सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ। शुक्रबार बिहान सडक भासिएर कार, मोटरसाइकल र स्कुटर खस्दा दुई जनाको ज्यान गएको थियो।

घटनामा परि ज्यान गुमाउनेमा गोरखाकाे सिरानचोक गाउँपालिका ५ छोप्राक घर भइ अहिले आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरकाे हेटौंडा नगरपालिका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।

सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजी कार्यलाई तीव्रता दिइरहेको छ। भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ । 

https://unelma.io/BXA5B