इन्टरनेट सेवा प्रदायकबीच स्पिड वारको प्रतिस्पर्धा चलिरहेको बेला नयाँ सेवा प्रदायकको ‘इन्ट्री’ (प्रवेश) भएको छ । सबैभन्दा सस्तो प्याकेजको इन्टरनेट सहित इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपाल बुधबारदेखि बजारमा आउन लागेको हो । 

सबैलाई इन्टरनेट पहुँचमा जोड्ने उद्देश्यसहित वाई-फाई नेपालले नेपालमा उपलब्धमध्ये हालसम्मकै सस्तो इन्टरनेट प्याकेज उपलब्ध गराउन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेशराजसिंह श्रेष्ठले जानकारी दिए । उनका अनुसार वाई-फाई नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन लागेको हो ।

हाललाई काठमाडौं उपत्यकामा मात्रै सेवा सुरु हुने र त्यसपछि विभिन्न चरणमा देशभर सेवा विस्तार गर्ने कम्पनीको योजना छ । ३० एमबीपीएस प्याकेजको इन्टरनेट भ्याट बाहेक मासिक चार सय रुपैयाँ र ५० एमबीपीएस स्पिड प्याकेजको इन्टरनेट मासिक शुल्क ५५० रुपैयाँमै उपलब्ध हुनेछ । यो प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ ।

“इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले शेयरिङ गरेर प्रयोग गर्ने गरेका छन्,” उनले भने, “यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन् ।” आफ्नो कम्पनीले उपलब्ध गराउने इन्टरनेट जुनसुकै उपभोक्ताले पनि सजिलै जडान गर्न सक्ने भएकाले यसले इन्टरनेट हरेकको पहुँच सुनिश्चित गराउन सहयोग पुर्‍याउने श्रेष्ठको दाबी छ । 

दुवै प्याकेजको लागि कम्पनीले अनलाइन बुकिङ खुला गरिसकेको छ  । जडानको काम बुधबारदेखि सुरु हुने श्रेष्ठले जानकारी दिए । कम्पनीको वेबसाइटमा गएर अथवा यहाँ क्लिक गरेर वाईफाई नेपालको सस्तो इन्टरनेटका लागि बुकिङ गराउन सकिनेछ ।

उनका अनुसार इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिनाको मासिक शुल्कसहित राउटरको शुल्क मात्रै तिरे पुग्छ । तीन महिना, छ महिना र एक वर्षको शुल्क तिर्ने ग्राहकले भने छुट सुविधा समेत पाउने श्रेष्ठले जानकारी दिए । 

३० एमबीपीएस इन्टरनेट जडान गर्ने उपभोक्ताले एक महिनाको शुल्क चार सय रुपैयाँ सहित एक हजार ५ सय रुपैयाँ राउटर शुल्क तिर्नुपर्ने हुन्छ । यस्तै, ५० एमबीपीएस इन्टरनेट प्याकेज लिने उपभोक्ताले जडान गर्दा एक महिनाको शुल्क ५ सय ५० रुपैयाँसहित एक हजार ५ सय रुपैयाँ राउटर शुल्क बुझाउनुपर्ने हुन्छ । 


https://unelma.io/K399C