हुम्लाका दुर्गम स्वास्थ्य चौकीमा ड्रोनबाट औषधिलगायत अत्यावश्यक वस्तु ढुवानी गरिने भएको छ । सो प्रयोजनका लागि जिल्लाका सातवटै पालिकाका सरोकार पक्षसँग परामर्शदाताले छलफल चलाइरहेको छ ।

 

दुई सदस्यीय अध्ययन टोलीले नाम्खा र सिमकोट गाउँपालिकामा सरोकार पक्षसँग छलफल गरेको छ । अत्यावश्यक परेको अवस्थामा दुर्गम ठाउँमा छिटो औषधि लैजान ड्रोनको प्रयोग गर्न सकिने जनाइएको छ ।

सो गाउँपालिकामा ड्रोनबाट औषधि ढुवानी सम्भव देखिएको जनाइएको छ । अप्सन कन्सल्टेन्सीले स्वास्थ्य मन्त्रालयको सहयोगमा हिमाली तथा दुर्गम जिल्लामा औषधि ढुवानीको सम्भावनाबारे अध्ययन गरिरहेको छ ।

ड्रोनबाट १० किलोमिटरको दूरीसम्म सात केजी सामान १५ मिनेटमा ढुवानी गर्न सकिने जनाइएको छ ।

जमिनको सतहभन्दा चार सय मिटर उचाइबाट ड्रोनले उडान भर्ने गर्छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले ड्रोन प्रविधिबाट दुर्गम गाउँमा औषधि ढुवानीलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने बताइन् ।
https://unelma.io/ZzkFs