काठमाडौं । प्रविधिको दिग्गज कम्पनी माइक्रोसफ्टले करिब २७ वर्षअघि निर्माण गरेको इन्टरनेट एक्सप्लोरर सधैँका लागि बन्द गर्ने भएको छ । माइक्रोसफ्टले एक वर्षअघिको घोषणा अनुसार अन्तः जुन १५ अर्थात् असार १ गतेबाट आफ्नो पुरानो ब्राउजर बन्द गर्न लागेको हो । 

 

माइक्रोसफ्टले आफ्नो घोषणा पत्रमा इन्टरनेट एक्सप्लोरर ११ डेक्सटप एप्लिकेसन विन्डोज १० मा सपोर्ट नगर्ने उल्लेख गरेको छ । माइक्रोसफ्टले इन्टरनरेट एक्सप्लोररको सेवा बन्द गर्ने उद्देश्यका साथ सोही सेवा माइक्रोसफ्ट एज मार्फत उपलब्ध गराइरहेको छ ।

 

इन्टरनेट एक्सप्लोरर सन् १९९५ मा विन्डोज ९५ अपरेटिङ सिस्टमका लागि सार्वजनिक गरिएको सफ्टवेयर हो । तर, विस्तारै माइक्रोसफ्टले आफ्ना हरेक अपरेटिङ सिस्टमका लागि इन्टरनेट एक्सप्लोरर निःशुल्क डाउनलोड गर्न मिल्ने सुविधा ल्यायो ।

 

अन्य वेब ब्राउजरको व्यापक प्रयोग र लोकप्रियता लगायत अन्य विविध कारणले माइक्रोसफ्टले सन् २०१६ पछि इन्टरनेट एक्सप्लोररमा नयाँ फिचर विकास गर्न बन्द गरेको थियो । त्यही समयमा माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररको विकल्पमा माइक्रोसफ्ट एज विकास गरेको थियो ।

 

इन्टरनेट एक्सप्लोरर एउटा विन्डोज कम्पोनेन्ट भएकाले र यो विन्डोज सर्भर २०१९ जस्तो विन्डोजका लागि दीर्घकालीन लाइफसाइकलमा समावेश गरिएको हुनाले त्यसमा २०२९ सम्म सेक्युरिटी अपडेट आइरहनेछ ।

 

इन्टरनेट एक्सप्लोरर एक समयमा निकै प्रयोग भएको वेब ब्राउजर हो । यसको लोकप्रियता कतिसम्म थियो भने सन् २००३ सम्ममा यसको शेयरको मूल्य  ९५ प्रतिशतसम्म वृद्धि भएको थियो ।

सन् २००४ मा फायरफक्स र त्यसपछि सन् २००८ मा गुगल क्रोमले बजार लिन थालेपछि यसको लोकप्रियता क्रमशः घट्दै गएको थियो ।

मोबाइल अपरेटिङ सिस्टम जस्तै एन्ड्रोइड र आईओएसको प्रयोग व्यापक बढेपछि इन्टरनेट एक्सप्लोररको अस्तित्व गुम्दै गएको थियो । नयाँ अपरेटिङ सिस्टमले इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने भएपछि यसको प्रयोग घट्दै गएको हो ।

https://unelma.io/xbcYr