सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा नयाँ अपडेट आएको छ । एपको पछिल्लो १.५.४ सँगै सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा थपिएको छ ।

यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल र चेक इन्टरनेसनलको प्रयासमा ड्राइभिङ लाइसेन्सलाई नागरिक एपमा जोडिएको हो ।

यससँगै अब नागरिक एपमा प्रयोगकर्ताले आफ्नो ड्राइभिङ लाइसेन्स लिङ्क गरी हेर्न सक्नेछन् । यद्यपि एपको अपडेटमा बग देखिएकाले पुनः अपडेट पठाइएको र उक्त अपडेट आएसँगै फोटो सहितको ड्राइभिङ लाइसेन्स देखिने नागरिक एपले जनाएको छ ।

एन्ड्रोइडमा नागरिक एपको पछिल्लो अपडेट आए पनि आईओएसमा उक्त अपडेट उपलब्ध हुन केही दिन लाग्नसक्ने अनुमान गरिएको छ । आईओएसमा नयाँ अपडेट आएसँगै स्वास्थ्य बीमाको रकम समेत तिर्न सकिनेछ ।

एन्ड्रोइडको अपडेटमा यो सुविधा आइसकेको भए पनि त्यसलाई हाल ‘डिएक्टिभ’ गरेर राखिएको बताइएको छ ।

‘आईओएसमा अपडेट आएसँगै यो सुविधा दुवै एपमा एकसाथ लाइभ गर्ने योजनामा छौँ,’ नागरिक एपमा एक डेभलपरले टेकपानासँगको कुराकानीमा भने, ‘तर सवारी साधनको अनलाइन आवेदनको सुविधा आउन भने अझै एक महिना जतिको समय  लाग्न सक्छ ।’

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनका लागि नयाँ सिस्टम तयार पारिएको र उक्त सिस्टम ‘स्टेबल’ हुन बाँकी रहेकाले नागरिक एपमा तत्काल समावेश नगरिएको डेभलपरले जनाएका छन् । 
http://unelma.io/nuhC1