लगातार घटेको बजार सम्हालिने सम्भावना नभएपछि लगानीकर्ताहरू हतोत्साहित बनेका छन्। यही कारण बुधबार नेप्से अन्तर्रदिनको कारोबारमा ५० अंकभन्दा तल ओर्लियो। बजार बन्द हुँदा भने नेप्‍सेले लगभग २० अंकले बाउन्स ब्याक हुँदै १,९६६.३७ बिन्दुमा आइपुगेको छ। 

आज संसदमा कांग्रेस नेता गगन थापाले सेयर बजारको लगानीकर्ता खस्कदो बजारबाट मर्कामा परेको र उनीहरूलाई सम्बोधन गर्नुपर्ने बताएसँगै बजारले गुमेको केही अंक जोडेको हो। तर मंगलबार साँझ बैंकरहरूसँगको कुराकानीमा राष्ट्र बैंकले स्पष्टसँग सेयर कर्जामा असारबाट लागू हुनेगरी कायम गरिएको एकल ग्राहक कर्जा सीमा नहटाउने बताएकाले पनि बजारले अझै अपेक्षित वृद्धि लिन सकेको छैन। 

बजार घट्दो क्रममा रहँदा गत शुक्रबार र सोमबार एक अर्बभन्दा कमको कारोबार भइरहेको थियो। विशेषतः लगानीकर्ताहरूबाट भइरहेको आन्दोलनलाई सरकार र सरकारी निकायले सम्बोधन गर्न सक्ने अपेक्षामा पनि लगानीकर्ताहरूले बिक्री बढाएका थिएनन्।

तर मंगलबारबाट कारोबार रकममा वृद्धि भइरहेको छ। थोरै जमातले अहिले सेयर खरिददारीको अवसरको रूपमा लगानी गरिरहेका भएपनि धेरै लगानीकर्ताहरूले आत्तिएर बिक्री बढाइरहेको बजार स्रोतहरू बताउँछन्। 

बुधबार सेयर बजार २९.८९ अंकले घट्दा कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख ५८ हजार रुपैयाँ पुगेको छ। आज कुल २२९ किसिमका धितोपत्र तथा ऋणपत्रको ४१ लाख ८२ हजार ३६९ सेयर किनबेच भएको थियो। 

ज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। जसमध्ये पनि सबैभन्दा धेरै इनभेस्टमेन्टको २.४२ प्रतिशत, हाइड्रोपावरको २.३२ प्रतिशत र फाइनान्सको २.०२ प्रतिशतले घटेको हो। 

 

आज जम्मा २८ धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १९१ वटाको मूल्य घटेको छ। आज सबैभन्दा धेरै आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाइसी लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, बलेफी हाइड्रोपावरको सबैभन्दा धेरै ८.७६ प्रतिशतले घटेको छ। 

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनटिसीको १२ करोड ५७ लाख १४ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि हिमालयन डिस्टिलरीको ५ करोड २८ लाख ३४ हजार रुपैयाँ, बैंक अफ काठमाण्डूको ५ करोड १६ लाख ९५ हजार रुपैयाँ,  एनआइसी एसिया बैंकको ४ करोड ४१ लाख ३३ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ४ करोड १० लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ। 

https://unelma.io/WKDr3