सन् २०२२ को पहिलो छ महिनादेखि क्रिप्टोकरेन्सीको बजार खस्कँदो छ । क्रिप्टोकरेन्सीको घट्दो मूल्य र बिग्रदो बजारले यसको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको छ । पछिल्लाे घटनाक्रमले त झन् लगानीकर्तालाई क्रिप्टोकरेन्सी सम्बन्धी काम गर्ने कम्पनीहरू कतिको अन्तरसम्बन्धित छन् भन्ने खुलासा गरेको छ ।

यही हप्तामात्र दुई कम्पनीले क्रिप्टो विथड्रल अथवा निकासीमा रोक्का गरेका छन् भने एक क्रिप्टोकरेन्सी हेज फन्ड समस्यामा छ ।

क्रिप्टोकरेन्सी हेज फन्ड भनेको एउटा साझेदारी वा सम्झौता हो, जसले क्रिप्टोकरेन्सी प्रयोग गरी ठूला छोटो अवधिको नाफा कमाउने प्रयास गर्छ ।

सेल्सियस नेटवर्क, बेबल फाइनान्स र थ्री एरो क्यापिटल अहिले बजारमा क्षति व्यहोरिरहेको छ र यो कहिलेसम्म व्यहोर्नुपर्ने हो भन्नेबारे अझै पनि अन्यौलता नै छ ।

 

यो हप्ताको सुरुमा नै क्रिप्टो ऋण दिने एउटा ठूलो कम्पनीको रुपमा चिनिएको सेल्सियस नेटवर्कले क्रिप्टो विथड्र र ट्रान्सफरका कामहरू केही समयका लागि रोक्ने घोषणा गरेको थियो ।

यी तीनवटै कम्पनीहरूले लगानीकर्ताको लगानी अथवा पैसा व्यवस्थापन गर्ने काम गर्छन् ।

सेल्सियस नेटवर्कले साना लगानीकर्ताका लागि काम गर्छ भने बेबल फाइनान्सको ५०० ग्राहकहरू छन्, जसले एक महिनाअघि कोषमा ८ करोड डलर जति रकम उठाएको थियो ।

क्रिप्टो स्टार्टअपमा लगानी गर्ने थ्री एसीले मार्चमामा १० अर्ब डलरको सम्पत्ति व्यवस्थापन गरेको थियो । यी कम्पनीमा आएको समस्याले क्रिप्टोकरेन्सीको पूरा इकोसिस्टमलाई नै अप्ठ्यारोमा पार्न सक्ने अनुमान गरिएको छ ।

यी कम्पनीले आफ्नो गतिविधि मात्र रोकेका छैनन्, कर्मचारीहरू पनि निकालिरहेका छन् । हालै मात्र क्रिप्टोको स्टार्टअप कम्पनी ब्लकफाईले आफ्नो २० प्रतिशत कम्पनीलाई जागिरबाट निकालेका छन् ।

त्यस्तै गत हप्तामात्रै क्रिप्टो डटकम नामक कम्पनीले २६० जना कामदारलाई बिदा गरेको थियो । त्यस्तै क्रिप्टो बजारमा नै काम गरिरहेको अर्को कम्पनी जेमिनिले १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

यसैगरी कोइनबेशले पनि नयाँ कर्मचारीहरू हाललाई थप नगर्ने बताएको छ । बिट्क्वाइनको मूल्य पनि २३,००० डलरभन्दा तल झरिसकेको छ भने इथेरियम पनि १७ प्रतिशतले ओरालो लागेको छ । लगानीकर्ताहरूले जोखिमपूर्ण क्षेत्रबाट आफ्नो लगानी झिक्दा क्रिप्टोकरेन्सीको बजार पनि मारमा परेको हो ।
http://unelma.io/iKyb7