काठमाडौं । सरकारले विस्तारै सरकारी कामलाई डिजिटल बनाउँदै लगिरहेको अवस्थामा सरकारी कार्यालयहरूले नै विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) लाई नमान्ने गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बताएका छन् ।

 

आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेकाे ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ मा शनिबार बाेल्दै सचिव अर्यालले केही सरकारी कार्यालयले अहिले पनि डिजिटल सिक्षनेचर नबुझेको र यसलाई मान्यता नदिएको बताए ।

 

‘अहिले पनि कतिपय सरकारी कार्यालयहरूले डिजिटल सिग्नेचरलाई मान्दैनन् । हामीलाई कलमले कोरेको सिग्नेचर हेर्ने बानी परेको छ । डिजिटल सिग्नेचर सहितको पत्र पठाउँदा यसमा हस्ताक्षर छैन भनेर पत्र नबुझ्ने प्रवित्ति अहिले पनि छ,’ उनले भने, ‘यद्यपि हामी यसमा काम गरिरहेका छौं । यो अवस्था छिट्टै हट्नेछ ।’

 

सञ्चार मन्त्रालयका ९० प्रतिशत काम भने डिजिटल माध्यमबाट नै हुने गरेको उनले दाबी गरे ।

 

‘चिठ्ठीपत्र आउनेदेखि लिएर विभिन्न दस्तावेजहरूको आदानप्रदान अनलाइन माध्यमबाट नै हुन्छ भने फाइलहरूमा तोक लगाउने काम पनि अनलाइनबाट नै हुन थालेकाे छ,’ उनले भने ।

https://unelma.io/MT2Th