अनलाइन बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइड एपमा नयाँ मालवेयर स्क्याम देखापरेको छ । साइबर सुरक्षामा अनुसन्धान गर्दै आएको ‘एफ फाइभ ल्याब’ का अनुसार केही एपमार्फत ‘मालिबट’ नामक मालवेयर फैलिएकाे हाे ।

याे मालवेयरमार्फत ह्याकरले प्रयोगकर्ताको बैंकिङ र क्रिप्टाे वालेट एपका जानकारी चोरिरहेकाे एफ फाइभ ल्याबले दाबी गरेकाे छ ।

अनुसन्धान अनुसार यो मालवेयर एन्ड्रोइड क्रिप्टोकरेन्सी माइनिङ एपहरूमा बढी देखिएको छ । यसअन्तर्गत ‘द क्रिप्टो एप’ जस्ता क्रिप्टोसँग सम्बन्धित चर्चित माइनिङ एपका फेक भर्सन (एप) पनि छन् ।प्रयोगकर्ताले ‘द क्रिप्टो एप’ का फेक एप डाउनलोड गरिरहेकाले त्यस्ता प्रयोगकर्ता याे मालवेयरबाट प्रभावित भइरहेकाे एफ फाइभ ल्याबले जनाएकाे छ ।

यसका साथै ‘माइनिङ एक्स’ नामक एपमा पनि सोही मालवेयर देखापरेको छ, जसमार्फत प्रयोगकर्ताको मोबाइल तथा इन्टरनेट बैंकिङ पासवर्ड, युजरनेम, ईमेल लगायतका महत्त्वपूर्ण जानकारी संकलन भइरहेको जनाइएको छ ।

यो मालवेयर रूसबाट सञ्चालित रहेको अनुमान गरिएकाे छ ।

एफ फाइभ ल्याबका अनुसार यो मालवेयरले प्रयोगकर्ताको बैंकिङ विवरण पहुँचमा लिएर त्यसबाट कारोबार गर्नेसम्मका काम गर्नसक्छ ।

विशेषगरी प्रयोगकर्ताको मोबाइलमा आउने मेसेजमै यसले नियन्त्रण गर्नसक्ने हुँदा कारोबार तथा लगईन गर्दाको सम्पूर्ण मेसेज डिलिट गरेर प्रयोगकर्तालाई कुनै जानकारी नहुने गरी यो मालवेयरले काम गर्नेछ ।

यो मालवेयरले अहिले स्पेन, इटाली लगायत युरोपेली देशका प्रयोगकर्ताको बैंक र क्रिप्टोकरेन्सी अकाउन्टलाई निशाना बनाइरहेको रिपोर्टमा उल्लेख छ ।

एफ फाइभ ल्याबले तत्कालै यस्ता एप डिलिट गर्न तथा आफ्ना बैंकिङ डिटेल परिवर्तन गर्नसमेत आग्रह गरेको छ । http://unelma.io/rjw6Z