मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने निर्णय भएको छ ।

यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय पनि भएको छ ।

असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गरिने राप्रपाले जनाएको छ ।

असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पाठ्यपुस्तक अभाव हटाउन माग गर्दै जनक शिक्षा सामग्री केन्द्रमा र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गराउन माग गर्दै उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।

यसैगरी असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिइने राप्रपाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
http://unelma.io/OXFgb