उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ का मतदाता हुन् ।

२०७० सालमा शशांकसँग प्रतिस्पर्धा गर्नका लागि एमालेले दिएको टिकट अस्विकार गरेको उनले दाबी गरे । शशांकसँग पुरानो सम्बन्ध तथा आफ्नो कांग्रेसप्रतिको आस्था पुरानो भएकाले प्रतिस्पर्धा नगरेको चौधरीले बताए । नवलपुर १ को टिकट माग गरि शशांकसँग द्वन्द्व बढाउन नचाहेको उनको भनाइ थियो ।

समानुपातिक सांसद हुँदै आएका उनले यसपटक प्रत्यक्ष उम्मेदवारी दिने सोच बनाएको बताएका थिए । प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने मनस्थितिसहित उनले अब समानुपातिकमा नबस्ने बताए । ‘समानुपातिकमा मात्रै कति बस्ने? अब प्रत्यक्ष चुनाव लड्छु ।’ पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मेरो बाँकी जीवन अब राजनीति नै हो । कांग्रेसकै राजनीति गर्छु ।’

https://unelma.io/M6cXf