दैनिकी सहज बनाउन विभिन्न उपकरण विकास गर्दै आएको नेपाली स्टार्टअप ‘काइचो ग्रुप’ ले नयाँ जीपीएस प्रणाली ल्याएकाे छ ।

निजीदेखि सार्वजनिक तथा दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सबै प्रकारका सवारीमा जडान गर्न सकिने याे प्रविधिकाे विस्तार कम्पनीले सुदूरपश्चिमबाट गरेकाे छ ।

‘मिसन स्मार्ट बस, स्मार्ट सुदूरपश्चिम’ नाम दिएर कम्पनीले सुरु गरेको यस अभियान अन्तर्गत सुदूरपश्चिमबाट छुट्ने लामो दूरीका बसमा निःशुल्क जीपीएस प्रविधि सहितको दुर्घटनाबाट सचेत गराउने उपकरण जडान गरिएकाे छ ।

सुदूरपश्चिममा हाल १५० वटा बसमा यो उपकरण जडान भइसकेको र ९०० बसमा जडान गर्ने लक्ष्य रहेको काइचो ग्रुपका संस्थापक सुमन पौडेलले जानकारी दिए ।

‘हाम्रो जीपीएस प्रणालीमा सवारीलाई ट्रयाक गर्ने प्रणालीमात्र नभएर यसमा एक्सिडेन्ट अलर्ट सिस्टम अथवा काइचो भेहिकल प्रोटेक्सन सिस्टम पनि छ, जसले सवारी दुर्घटना हुन लागेको अवस्थामा अथवा सवारी चालक निष्कृय भएको अवस्थामा स्वत: गाडीमा ब्रेक लाग्न मद्दत गर्छ,’ उनले टेकपानासँग भने ।

सवारी चालक निष्क्रिय हुँदा अथवा निदाउँदा साथै गाडीलाई सामान्य झट्का लाग्ने बित्तिकै यो डिभाइसले सचेत गराउने उनको दाबी छ ।

साथै सवारी दुर्घटना भइहाले सम्बन्धित निकायमा तुरून्तै जानकारी पुग्ने पनि उनले बताए ।

‘सार्वजनिक सवारीको हकमा यातायात समिति अथवा कम्पनीले आफ्नो सवारीलाई यो प्रणालीमार्फत ट्रयाक गर्न र दुर्घटनाबाट सुरक्षित राख्न सक्छन्, उनले भने, ‘सवारी कहाँ पुग्यो, कति बेला रोकियो, कति किलोमिटर गुड्यो अथवा कति स्पिडमा गुडिरहेको छ लगायतका जानकारी याे प्रविधिले उपलब्ध गराउँछ ।’

स्थानीय निकाय तथा सम्बन्धित संस्थासँगको सहकार्यमा याे प्रणाली निःशुल्क जडान भइरहेको समेत उनले जानकारी दिए ।प्रणाली जडान भएका बसहरूले सेवा नवीकरण गर्नका लागि भने मासिक ५०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

अन्यको हकमा भने डिभाइस जडान गर्दा एकमुष्ठ रकम दिने वा मासिक रकम बुझाउने भन्ने हिसाबले भुक्तानी गरेर यो डिभाइस जडान गरी प्रयोग गर्न सकिने उनले बताए ।

चार युवाको ४० लाख रुपैयाँ लगानीबाट काइचोले यो परियाेजना सुरु गरेको हाे । यसका लागि पौडेलसहित विवेक पाण्डे, भुपाल खतिवडा र सुजन पौडेलले लगानी गरेका थिए ।

आउने दिनमा यो प्रविधिलाई देशभर विस्तार गर्ने योजना रहेको उनले पाैडेलले सुनाए ।

https://unelma.io/yp9Dk