काठमाडौं । टिकटकका कर्मचारीहरूलाई प्रयोगकर्ताको हरेक डेटाको पहुँच हुने विषय बाहिरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा टिकटकले आफ्नो चीनमा अवस्थित कम्पनीका कर्मचारीहरूलाई विश्वभर भएका कुनै पनि प्रयोगकर्ताको डेटामा पहुँच दिएको पनि स्वीकार गरेकाे छ ।

 

पछिल्लो समय विशेषगरी अमेरिकामा टिकटक प्रयोगकर्ताको डेटा सुरक्षा सम्बन्धित विषयमा विवाद भइरहेको अवस्थामा टिकटकका कर्मचारीहरूसँग कुनै पनि देशको प्रयोगकर्ताको डेटाको पहुँच हुने कुरा बाहिरिएको हो ।

 

अमेरिकाले चिनियाँ भिडिओ प्लेटफर्म टिकटकमा आफ्नो प्रयोगकर्ताहरूको डेटा सुरक्षित नभएको र डेटा बाहिरिने कुरामा टिकटक संवेदनशील नभएको आरोप लगाउँदै आएको छ ।

 

अर्कोतिर कम्पनीले यी डेटा चिनियाँ सरकारले मागेको खण्डमा दिनसक्ने जोखिम रहेको पनि बताइएको छ । यद्यपि ब्लुमबर्गसँगको कुराकानीमा भने टिकटकका सीईओ साओ जी चिउले चीनस्थित कार्यालयका कर्मचारीहरूसँग प्रयोगकर्ताको डेटामा पहुँच भएपनि अहिलेसम्म कम्पनीले चिनियाँ सरकारलाई डेटा उपलब्ध नगराएको बताएका छन् ।

 

साथै प्रयोगकर्ताको डेटा सुरक्षित साथ राखेको उनले स्पष्ट पारेका छन् । अमेरिकी प्रयोगकर्ताको हकमा भने अमेरिकी सरकारसँगै नै मिलेर डेटा सुरक्षित राख्ने कम्पनीको योजना छ । यद्यपि यो खुलासाले प्रयोगकर्ताहरूमा आफ्नो गोपनीयता भंग भएको आभास भने हुनसक्छ ।

https://unelma.io/YlTxN