अब एनआईसी एसिया बैंकका ग्राहकहरूले रकम जम्मा गर्न बैंक जानै नपर्ने भएको छ । बैंकले नगद रकम सोझै मेसिनबाटै जम्मा गर्न सकिने ‘क्याश रिसाइकलर’ सेवा सुरु गरेको हो ।

बैंकले ‘डिजिटल फस्ट बैंक’ रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने क्रममा यो सुविधा थपिएको उल्लेख गरेको छ । जसमार्फत अब बैंकका ग्राहकले बैंकमा नगएर, कुनै भौतिक फाराम नभरिकनै आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् ।

यो मसिनबाट १,००० र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने र एक जना ग्राहकले आफ्नो खातामा दैनिक अधिकतम ९९,५०० रुपैयाँसम्म नगद जम्मा गर्न सक्ने  बैंकले जनाएको छ । नगद जम्मा गर्नका लागि ग्राहकले ‘क्याश रिसाइकलर’ मसिनमा आफ्नो डेबिट कार्ड राखेर एटीएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मसिनमा रहेको रकम जम्मा गर्ने बक्स खुल्छ ।

उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मसिनले सो रकम गनेर तत्काल खातामा जम्मा गरिदिन्छ । साथै त्यसको जानकारी समेत ग्राहकले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ ।

https://unelma.io/A34Sw