काठमाडौं । फेसबुकले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने तयारी गरेकाे छ । हाल प्रयोगकर्ताले एउटा अकाउन्टबाट एउटामात्रै प्रोफाइल बनाउन सक्छन् । तर अब भने कम्पनीले एउटै अकाउन्टबाट पाँच वटासम्म प्रोफाइल बनाउन सकिने फिचरको परीक्षण गरेको छ ।

 

यसपछि इन्स्टाग्राममा जस्तै अब फेसबुक प्रयोगकर्ताले पनि फरक-फरक नामको प्रोफाइल बनाउन मिल्नेछ । यो फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले आफ्नो एउटै ईमेल आईडी प्रयोग गरेर पाँच वटा फरक-फरक प्रोफाइल बनाउन सक्नेछन् ।

 

प्रयोगकर्ताका फरक-फरक रुचि र आवश्यकताका लागि एउटा व्यक्तिको फरक-फरक फेसबुक प्रोफाइलको प्रभावकारिता बुझ्न यो फिचर ल्याउन लागेकाे कम्पनीले जनाएको छ ।

 

परीक्षण सफल भएमा फेसबुकले आफ्नै धेरै नियमहरुमा परिवर्तन गर्नुपर्ने हुन्छ । तीमध्ये सबैभन्दा पहिलो हो प्रयोगकर्ताले वास्तविक नाम राख्नुपर्ने नियम ।

 

एउटै फेसबुक अकाउन्टबाट पाँच फरक-फरक प्रोफाइल बनाउँदा नाम कसरी राख्न पाउने, व्यक्तिगत विवरणहरू कसरी व्यवस्थापन गर्ने लगायतका कुराहरूमा पनि कम्पनीले काम गर्नुपर्ने हुन्छ ।

 

अहिले नै कम्पनीले पाँच वटा प्रोफाइल व्यवस्थापनको विषयमा भने केही जानकारी बाहिर ल्याएको छैन । सर्वसाधारणका लागि यो फिचर कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा पनि कम्पनीले कुनै जानकारी दिइसकेको छैन ।

https://unelma.io/PSNbd