यतिबेला प्रयोगकर्ताको सिमकार्ड दुरुपयोगको एउटा अर्को घटना सतहमा आएको छ । एक जना व्यक्तिको पुरानो सिमकार्ड दुरुपयोग गरेर उनको बैंक खातामा रहेको आठ लाख रुपैयाँ चोरी भएको छ । 

यो घटनाका पीडित सुनसरीको कोशी गाउँपालिका घर भएका महेशप्रसाद भिन्डवार हुन् । भिन्डवार आफ्नो जिविकोपार्जनका लागि मेलिसियाको वैदेशिक रोजगारीमा छन् ।

सन् २०१० मा पहिलो पटक मलेसिया पुगेका उनी बेलाबखत नेपाल आउजाउ गरिरहन्छन् । यस पटक केही दिन अघि नेपाल आएका उनी यतै छन् । 

भोलि बुधबार (३ साउन २०७९) महेशले मलेसिया फर्किने टिकेट काटेका छन् । तर, सन् २०१६ मा नेपाल फर्किँदाको बखत उनी राम्रैसँग सम्झिरहेका छन् । त्यतिखेर उनले घरपरिवारमा समेत जानकारी नदिई विदेशमा दुःख गरेर कमाएको रकम ग्लोबल आईएमई बैंकमा जम्मा गरेका थिए ।

आफ्नो कमाईसँगै घरपरिवार र अन्यत्रबाट आएको रकम पनि त्यही खातामा जम्मा गरिरहे । यसरी उनको खातामा आठ लाख रुपैयाँ जम्मा भएको थियो ।

यसअघि सन् २०२० को मार्चमा नेपाल फर्किएको बेला उनले आफ्नो बैंक खातामा जम्मा भएको पैसा निकाल्न खोजे । तर खातामा एक लाख १६ हजार रुपैयाँभन्दा बढी थिएन । बाँकी सात लाख उनको खाताबाट झिकिएको बैंकले जानकारी गरायो ।

उनले बैंकमा सोधिखोजी गर्दा बैंकका कर्मचारीले मोबाइल बैंकिङबाट रकम झिकिएको बताए । तर सन् २०१६ मा आउँदा आफूले मोबाइल बैंकिङका लागि कुनै फाराम नै नभरेको दाबी महेशले गर्दै आएका छन् ।

सन् २०२० मार्चमा नेपाल आएका बखत रकम झिक्नु अघि आफू बैंकमा नपुगेको उनले सुनाए । तर, महेश नेपाल फर्किए पश्चात नै यो सबै घटना घटेको प्रहरी अनुसन्धानमा देखिन्छ । बैंक खाता खोल्दा प्रयोग गरेको सिमकार्ड अझै पनि उनीसँगै छ ।

तर, तीन वर्षपछि मात्रै स्वदेश फर्किएकाले खाता खोल्दा प्रयोग भएको सिमकार्ड बन्द भइसकेको थियो । उनले उताबाट फर्किएपछि उनले एनसेलको नयाँ सिमकार्ड लिए । पहिला पनि उनीसँग एनसेलकै नम्बर थियो ।

उक्त नम्बरको अन्तिममा ४८ रहेको उनी बताउँछन् । “मलाई नम्बर पूरा याद छैन,” उनी भन्छन्, “तर बैंकको केवाईसी हेर्दा मोबाइल अन्तिम नम्बर ४८ भन्ने मात्रै थाहा छ ।”

त्यसबीच उनले खाताबाट आफ्नो पैसा हराएको भन्दै बैंकमा निवेदन दिइसकेका थिए । बैंकले भिन्डवार स्वयंले मोबाइल बैंकिङ प्रयोग गरेको बताएको छ । 

जसले गर्दा उक्त पैसा फिर्ता गर्न नसकिने दाबी ग्लोबल आईएमई बैंकले गर्दै आएको छ । त्यसपछि उनले प्रहरी समक्ष उजुरी दिए । उनले निवेदन दिएपश्चात् महेशको बैंक खातामा बाँकी रहेको एक लाख २६ हजार पनि निकालियो ।

 

निवेदन पछि पनि बैंक खाताबाट रकम हराउनुले यो घटनामा बाहिरी कुनै व्यक्तिको संलग्नता रहेको सङ्केत गर्छ । अर्कोतर्फ निवेदन प्राप्त भए पश्चात् बैंकले उक्त खाता रोक्का गर्नुपर्ने थियो ।

यसरी पछिल्लो पटक पुनः पैसा गायब भएको विषयलाई बैंकले आफ्नो कमजोरीको रूपमा स्वीकार गरेको छ । जसले गर्दा निवेदन प्राप्त भएपश्चात झिकिएको एक लाख २६ हजार रुपैयाँ फिर्ता गर्न भने बैंक तयार देखिएको छ ।

सन् २०२० भिन्डवार नेपाल फर्किएको केही महिना पश्चात अर्थात अक्टोबरमा बैंकमा पुरानै नम्बरबाट मोबाइल बैंकिङ सक्रिय भएको देखिएको छ । अनुसन्धानका क्रममा उनकै नागरिकता प्रयोग गरेर त्यही नम्बर अर्को पटक निकालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइराला बताउँछन् ।

यसबाट उनको सिमकार्ड अरु कसैले दुरुपयोग गरेको हुनसक्ने प्रहरी आँकलन छ । प्रहरी अध्ययनले यसमा बैंकका कर्मचारीकै मिलोमतो हुनसक्नेतर्फ इसारा समेत गरेको छ । यद्यपि यस विषयमा अझै अनुसन्धान जारी रहेको कोइरालाले बताए । तर, अर्कोतर्फ भिन्डवार भने आफ्नो १० वर्षको कमाई बैंकले खाइदिएको आरोप लगाइरहेका छन् ।

“भोलि बुधबार मेरो मलेसिया फर्किने टिकेट छ । तर, प्रहरी इन्स्पेक्टरले कम्पनीसँग कुरा गरेर टिकेट सार्न भन्नु भएको छ,” उनी भन्छन्, “उता मैले काम गरिरहेको कम्पनीसँग कुरा गर्ने प्रयासमा छु । थाहा छैन, कम्पनीबाट कस्तो जवाफ आउँछ । यता पैसा के हुन्छ भन्ने पनि टुङ्गो भएन । अहिले म निकै दोधारमा छु ।”

यो घटना सिमकार्ड दुरुपयोगको एउटा गम्भीर घटना हो । दूरसञ्चार सेवा प्रदायकले कुनै सिमकार्ड प्रयोगमा नआएको खण्डमा ६ महिनापछि त्यसलाई रिसाइकल गरी पुनः नयाँ ग्राहकलाई बिक्री गर्दै आएका छन् ।

यसरी पुनः बिक्री गर्दा हुने जोखिमको यो एउटा ज्वलन्त उदाहरण हो । “यो त समयावधि सकिए पश्चात पुनः सिम निकाल्दाको घटना हो,” प्रहरी उपरीक्षक कोइराला भन्छन्, “यहाँ त चल्दाचल्दैको सिमकार्ड समेत सिम वितरक कम्पनीले अर्कैलाई दिएका घटना छन् ।”

केही समय अघि मात्र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा त्यस्तै अर्को घटना दर्ता भएको थियो । उनले सुनाए, “फेसबुकमा कसैले रोजगारीका लागि कोरिया जाने सुवर्ण अवसर भन्दै राखेछ । जसमा आकर्षक तलब, काम लगायतका विषय उल्लेख गरिएका थिए ।”

“त्यो देखेर मेसेन्जरमा कामको प्रकृति, तलब लगायतका बारेमा जानकारी लिने काम भएछ । मेसेन्जरमार्फत विस्तारै ह्वाट्सएपमा कुरा हुन थाल्यो । ह्वाट्सएपमा नक्कली कामदार माग पत्र, नियुक्ति पत्र, तलबको नक्कली सम्झौता पठाएछ । हेर्दा दुरुस्तै लाग्ने कागजातले जो कोहीलाई लोभ्याउने नै भयो ।” 

“ठगी गर्नेले उसको नागरिकता, पासपोर्ट र पासपोर्ट साइजको फोटो समेत माग्यो । ह्वाट्सएपबाट सबैको स्क्यान कपी उपलब्ध गरायो । त्यसपछि भिसा आवेदनका लागि बैंक खातामा ७ लाख जम्मा गर्न भनियो । सहजताका लागि भन्दै एनआईसी एसिया बैंकमा आफ्नो खाता खोलेर पैसा जम्मा गरी भौचर पठाउन भन्यो ।” 

घटनाक्रम हेर्दा समान्य लाग्छ । किनभने आफ्नै खातामा पैसा जम्मा गरेर भौचर त पठाउनु पर्ने हो भन्ने हुन्छ । भयो पनि त्यस्तै ।

कोइराला सुनाउँछन्, “तर, उसले त्यही नागरिकता, त्यही फोटो र त्यही पासपोर्ट प्रयोग गरेर चलिरहेको सिमकार्ड निकालेछ । सिमकार्ड हरायो भनेर जानकारी दिएको भरमा एनसेलले नयाँ नम्बर उपलब्ध गरायो । नम्बर हातमा आएसँगै ठगी गर्ने व्यक्तिले मोबाइल बैंकिङमार्फत ‘फर्गेट पासवर्ड’ विकल्पमा गएर ओटीपी कोड प्रयोग गरी मोबाइल बैंकिङमार्फत खातामा पहुँच बनाएर पैसा सबै निकालेछ ।”

पछि पीडित आफ्नो सिमकार्ड नचलेर एनसेल कार्यालयमा पुग्दा उनलाई दुई घण्टा अघिमात्र तपाईँकै कागजात राखेर सिमकार्ड निकालिएको जवाफ दिएछन् । यसरी चल्दाचल्दैको सिमकार्ड अर्काले निकालेको यो नयाँ घटना पनि थिएन । त्यसअघि टेकपानाले यस्तै किसिमको अर्को घटना सार्वजनिक गरेको थियो ।

उक्त घटनाको गम्भीरतालाई ध्यान दिँदै प्राधिकरणले सिमकार्ड बिक्री गर्दा सक्कल नागरिकताको साथमा स्वयम् व्यक्ति नै उपस्थित हुनुपर्ने भन्दै सेवाप्रदायकको नाममा परिपत्र नै जारी गर्‍यो । यदि व्यक्ति स्वयम् उपस्थित हुन नसकेको खण्डमा सम्बन्धित व्यक्तिको वारेसनामा आवश्यक पर्ने व्यवस्था पनि त्यसमा गरिएको थियो । 

तर, प्राधिकरणको उक्त कदम पनि त्यति प्रभावकारी हुन नसकेको पछिल्ला दुई घटनाले देखाउँछ । अझै पनि सेवा प्रदायकले चल्दै गरेको सिमकार्ड कागजपत्र बोकेर आएको खण्डमा अर्कोलाई दिने गरेका घटनाका थुप्रै उजुरी आउने गरेको प्रहरी उपरीक्षक कोइराला बताउँछन् । 

“अहिले त केही घटनामा व्यक्तिलाई पठाओमार्फत सक्कली नागरिकता र फोटो पठाउन लगाएर सिमकार्ड निकाल्ने र सक्कल कागजात पुनः सम्बन्धित व्यक्तिलाई पठाओमार्फत नै पठाइदिने गरेको समेत पाइएको छ,” यसले भोलिका दिनमा थप चुनौती सिर्जना गर्ने निश्चित छ । त्यसैले नियामक दूरसञ्चार प्राधिकरणले यस्ता घटनालाई गम्भीरताका साथ लिन जरुरी छ ।”

भारतमा जस्तो नयाँ सिमकार्ड लिँदा अन्य कसैको नम्बर अनिवार्य राख्नु पर्ने र पुरानो सिमकार्ड कसैले पुनः लिएमा उक्त नम्बरमा फोन गरी भेरिफाइ गर्नुपर्ने प्रावधान यहाँ लागू हुन आवश्यक रहेको उनी बताउँछन् ।

साथै भेरिफाइ नगरी सिमकार्ड बिक्री गर्ने वितरकलाई तीन महिना अथवा छ महिनाको जेल सजाय हुने व्यवस्था गर्नुपर्ने सुझाव समेत प्रहरी अधिकारीहरूको छ । त्यसो भएको खण्डमा सिम वितरकहरू पनि सचेत हुने र प्रहरीले पनि प्रमाणीकरण नगरी सिम बिक्री गरेको पाइएमा थुनामा राखि अनुसन्धान गर्नसक्ने आधार बन्न सक्छ ।

तर, यहाँ त्यस किसिमको कुनै प्रावधान नै छैन । दुरसञ्चार ऐनको दफा ४७ अनुसार कारबाही हुने भनिएपनि त्यसमा ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था मात्रै छ । यस किसिमको कमजोर कानूनी प्रावधानले सिमकार्ड दुरुपयोगका घटना रोकथाम गर्न सकेको छैन ।

“त्यसैले यो विषय हामीले प्राधिकरणसँगको बैठकमा समेत उठाउँदै आएका छौँ । तर, पनि लामो समयदेखि यो विषय कार्यान्वयन हुन सकेको छैन,” उनी भन्छन्, “जसबाट प्राधिकरणले यसको गम्भीरता राम्रोसँग नबुझेको जस्तो देखिन्छ ।”

यता प्राधिकरण भने बैंकसँगको यस किसिमका घटना हुन नदिन बैंक तथा नियमनकारी निकायले जनचेतना फैलाउन आवश्यक रहेको बताउँछ ।

“जनचेतनाको कमीले गर्दा नै यस्ता घटना भएको देखिन्छ,” प्राधिकरणका एक अधिकारी भन्छन्, “आफूले बोक्ने सिमकार्ड परिवर्तन पश्चात बैंकलाई जानकारी गराउनुपर्ने हुन् । तर, जनचेतना नहुँदा त्यसरी बैंकलाई नम्बर परिवर्तनको विषयमा जानकारी दिने प्रचलन यहाँ छैन । जसले गर्दा यस्तो चुनौती सिर्जना भएको हो ।”

तर, यसमा सेवा प्रदायकको कमजोरीलाई केलाएर कडा कारबाही गर्नु पर्छ भन्ने सोच प्राधिकरण नेदेखिएको कोइराला बताउँछन् । “जसले भोलिका दिनमा थप चुनौती सिर्जना गर्दै जानेछ,” उनी भन्छन् ।