तपाईँ कुनै पनि विषयबारे जान्न गुगल गर्नुहुन्छ भने सबैभन्दा पहिला प्रायजसो ‘विकिपिडिया’ मा उपलब्ध विवरण आउने गर्छन् । कतिपयले अन्य प्लेटफर्मजस्तै विकिपिडिया पनि विश्वास गर्न लायक छैन भन्ने गरेका छन् ।

तर आज पनि विकिपिडिया धेरैको सूचनाको स्रोतको रूपमा रहेको छ । आजको दिनमा इन्टरनेटमा आउने जानकारीलाई लिएर प्रयोगकर्ताको विश्वास फितलो हुँदै गइरहेको छ ।

 

कुन कुरा साँचो अथवा कुन कुरा झुटो भन्ने विषयलाई लिएर पाठकवर्गको सोच छिट्टै परिवर्तन हुन्छ । यो उतारचढावका बीच पनि विकिपिडियाले भने मानवको यही स्वभावलाई मध्यनजर गर्दै आफ्नो साइटमा लेखहरू प्रकाशन गर्ने विकिपिडियाको संस्था विकिमिडिया फाउन्डेसनकी क्याथरिन माहर बताउँछिन् ।

गलत सूचना र झुटा समाचारको अहिलेको समयमा आम मानिसको विश्वास आर्जन गर्नु त्यति सजिलो काम होइन । यही समयमा विश्वभर सार्वजनिक सङ्घसंस्थामाथिको सार्वजनिक विश्वास ढल्दै गएका छन् ।

यसका पछाडि अभिव्यक्ति स्वतन्त्रता र प्रजातान्त्रिक अभ्यास पनि कारणको रूपमा रहेको छ । यस्तोमा विकिपिडियालाई पनि आफूप्रतिको विश्वास टिकाइराख्न सहज छैन ।

सन् २०१९ मा गरिएको एक अध्ययन अनुसार विकिपिडिया एउटा माध्यम हो, जसले मानिसको एक-अर्काको सोचप्रति हुने विमतिहरूको उपयोग गरी विभिन्न शीर्षकमा लेखहरू तयार पार्छ । यिनै विमतिहरूलाई लिएर मानिसले फरक फरक सोचसहित एउटा राम्रो लेख तयार गर्न सक्छ भन्ने विकिपिडियाको विश्वास रहेको क्याथरिनको भनाई छ ।

विकिपिडिया विश्वभर छरिएर रहेका स्वयम्‌सेवी लेखकहरूबाट सम्पादित हुने गर्दछ । पक्षपाती हुन नदिन विकिपिडियामा आफ्नो बारेमा आफैँले लेख लेख्न पाइँदैन । विकिपिडियामा रहेका सामग्रीदेखि संस्थाको नीति पारदर्शी र खुल्ला राखिएको छ ।

स्पष्ट नियम र मजबुत सामुदायिक मानकले विकिपिडियाप्रतिको विश्वास बढाउन र अनावश्यक सामग्री कटौती गर्न सघाएको छ । यसै आधारमा विकिपिडियाले परिवर्तित विश्वसँगै आफ्ना सामग्री समेत समय सापेक्ष रूपमा सम्पादन गरिरहेको हुन्छ ।

 

विकिपिडियाले ‘न्यूनतम सम्भाव्य सत्य’ (मिनिमम् भायबल ट्रुथ) सामग्रीहरूमा आफूलाई केन्द्रित गरिरहेको हुन्छ । यसको अर्थ पर्याप्त मात्रामा सही, पर्याप्त समय, उल्लेख्य मानिसहरूका लागि बहुउपयोगी भन्ने हुन्छ । यसमा राखिने तथ्याङ्क र सन्दर्भ सामग्रीले विमति राख्नेहरूबीचमा एउटा साझा मैदान तयार पारिरहेको हुन्छ ।

केही समय अगाडि ‘टेडेक्स टक’मा बोल्दै क्याथरिनले भनेकी थिइन्, “कोही व्यक्तिले कुनै एउटा विषयमा पूर्वाग्रही सोच राख्छ भन्ने मानवीय स्वभावलाई विकिपिडियाले बुझेको छ । एउटा मानिसले अर्को मानिससँग असहमति जनाउनका लागि आफूले सक्दो सन्दर्भ तथा स्रोतहरू खोज्ने गर्छन् र लेख्ने गर्छन् । यही कुराको फाइदा विकिपिडियाले उठाएको छ ।”

गुणस्तरीय सूचना, सत्यतथ्य विवरण विकिपिडियाको एउटा विश्वासिलो पक्ष हो । यद्यपि यी तत्त्वले मात्र कुनै मानिसको सोचाइ परिवर्तन गर्नसक्छ अथवा छरिएको विचारलाई एकीकृत गर्छ भन्ने हुँदैन ।

कम्पनीले एउटै सत्यलाई मात्र लिएर लेख तयार पार्ने भन्दा पनि सम्भावित सत्यहरूलाई एकीकृत गर्ने काम गरेको उनको भनाइ छ । सरल भाषामा भन्नुपर्दा जति धेरै विचारहरू भयो, त्यति नै राम्रो लेख तयार हुने उनको तर्क छ ।

त्यसैले उनी विकिपिडियालाई विमतिहरूमा आधारित छलफल गर्ने एउटा प्लेटफर्मको रूपमा चिनाउन चाहन्छिन् । यसको अर्थ एउटै सत्यमा निर्भर हुनेभन्दा पनि उपलब्ध वास्तविकताहरूलाई संकलन गर्ने प्रयास विकिपिडियाले गरिरहेको छ ।

“मान्छेसँग अरूको कुरामा जति धेरै विमति हुन्छ, त्यति नै धेरै त्यो विषयमा छलफल तथा अन्तरक्रिया हुने गर्छ । यही सन्दर्भलाई लिएर कुनै एउटै सत्यलाई लेख्ने भन्दा पनि उपलब्ध वास्तविकताहरूलाई संकलन गरेर लेख तयार पार्ने गरिन्छ,” उनले भनेकी छिन् ।

“यसले लेखमा पाठकको विश्वसनीयतालाई बढाउन थप मद्दत गर्‍यो । विकिपिडिया मात्र एउटा यस्तो प्लेटफर्म हो, जसमा असहमतिबीचमै सहमति जोडिने गर्दछन् ।”

गल्ती र विवादले मानिसलाई अन्तरक्रियाका लागि बाध्य बनाउँछ । जब कोही मानिस कुनै कुरामा असहमत हुन्छ, तब ऊ चुप लागेर बस्दैन । यसरी जति धेरै मान्छै कुनै कुरामा संलग्न हुन्छन्, त्यति नै धेरै सार्वजनिक अभिलेख तयार हुन्छ ।

जति धेरै सोचहरूबीच छलफल हुन्छ, त्यति नै राम्रा लेखहरू उत्पादन हुने गर्छन् । हो, यही विचारमा आधारित छन्, विकिपिडियाका लेख । धेरै विमतिहरूबाटै एउटा साझा सोच पैदा हुने उनको भनाइ छ ।

यसरी विभिन्न सोच तथा विचारहरूलाई विकिपिडियाले छलफल गर्ने एउटा बाटो दिएको उनको विश्वास छ । सार्वजनिक विश्वास जित्नका लागि कम्पनीले यो सिद्धान्त प्रयोग गरिरहेको छ ।

विकिपिडियाको सुरुका दिन सम्झँदै उनी भन्छिन्, “जब विकिपिडिया सुरु भएको थियो, प्लेटफर्ममा धेरैजसो लेखकहरू पश्चिमी गोरा पुरुषहरू मात्रै थिए । यसले कम्पनीलाई एक प्रकारको पूर्वाग्रही बनाएको थियो । साथै प्लेटफर्ममा सार्वजनिक हुने लेखहरूमा पनि एकाधिकारको आभास गर्न सकिन्थ्यो । अहिले यो कुरालाई विकिपिडियाले पूर्ण रुपमा परिवर्तन गरेको छ ।”

कुनै पनि प्रणाली लागू गर्न एक्लो कदमले काम नगर्ने भएकाले  सबै मिलेर अगाडि बढ्नुपर्ने सिद्धान्तलाई पनि आत्मसात् गरेको उनले बताइन् । यससँगै विकिपिडियाले हतारमा जानकारी दिनेभन्दा पनि धैर्यतापूर्वक सूचना सम्प्रेषण गर्ने गरेको उनको भनाई छ ।

अहिले छिटोको जमाना छ । यो बेला जे पनि छिटो हुनुपर्छ, छिटो काम गर्नुपर्छ भन्ने सोच छ । यो छिटोको दौडमा मानवजीवनका धेरै कुराहरू छुटेका छन् ।

यो प्रवृत्तिले हाम्रो विश्वासलाई तोड्ने काममात्र गरेको छैन, यसले हामी आफूभित्रको साहसलाई पनि तोडेको छ । तर विकिपिडिया यसमा विश्वास गर्दैन । विकिपिडियाले यो दौडलाई सुस्त गरेर ध्यानपूर्वक अरुको कुरा सुनेर, परामर्श गरेर तथा असहज निर्णयहरूको सही मूल्याङ्कन गरेर छलफल गर्ने कुरामा विश्वास गर्छ ।

“यसले सूचनालाई सत्यतथ्य बनाइराख्न पनि मद्दत गर्छ । यो एउटा प्रक्रिया हो, जसलाई हामीले विकास गर्नुपर्छ,” उनी भन्छिन्, “यसरी मानिसहरूमा हाम्रो सामग्री विश्वासिलो बनाउन सकिन्छ । कुनै पनि काम मिलेर गर्नुपर्छ ।”