प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) ले प्रमाणपत्र तह तथा डिप्लोमा विभिन्न २९ ओटा शैक्षिक कार्यक्रमका लागि २९१३ जना र प्रि डिप्लोमा तहमा १८१४ गरी ४३३१ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने भएको छ ।

 

बिहीबार एक सूचना प्रकाशित गर्दै सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको हो ।

शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्बन्धी निर्देशिका २०७० अनुसार परिषद्‌बाट सम्बन्धन प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा अध्ययन गर्न यस्तो छात्रवृत्ति उपलब्ध गराउन लागिएको छ ।

 

यसका लागि २०७९ साउन २९ गते राति १२ बजे भित्र अनलाइनबाटै प्रवेश शुल्क भुक्तानी गरी आवेदन समेत अनलाइनमै दिनुपर्ने सीटीईभीटीले जनाएको छ । प्रमाणपत्र तहमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी,  डेन्टल साइन्स, रेडियोग्राफी, सामान्य आयुर्वेदिक चिकित्सा, अप्थाल्मिक विज्ञान, अकुपञ्चर, फार्मेसी, फिजियोथेरापी र डिप्लोमा तहमा योग एन्ड नेचुरोपेथीका लागि  वर्गीकृत निःशुल्क छात्रवृत्ति कोटा छुट्याइएको छ ।

 

यसका साथै डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, जिओमेटिक्स इन्जिनियरिङ र आर्किटेक्चर इन्जिनियरिङका लागि समेत निःशुल्क छात्रवृत्ति पाउन सकिनेछ ।

 

त्यस्तै सोही तहमा मेकानिकल इन्जिनियरिङ, मेकाट्रोनिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, आईटी, कम्प्युटर इन्जिनियरिङ, रेफ एन्ड एसी इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ (हाइड्रोपावर स्पेसलाइजेसन),  एग्रिकल्चर (बाली विज्ञान), एग्रिकल्चर (पशु विज्ञान), फुड एन्ड डेरी टेक्नोलोजी, फरेस्ट्री, होटेल म्यानेजमेन्ट र सोसल वर्करमा समेत छात्रवृत्तिका लागि आवेदन दिन सकिनेछ ।  

त्यस बाहेक प्रि-डिप्लोमा तहका लागि एग्रिकल्चर (प्लान्ट साइन्स), लाइभस्टक प्रोडक्सन एन्ड एनिमल हेल्थ, भेटेरिनरी साइन्स, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, वाटर सप्लाइ एन्ड सेनिटरी इन्जिनियरिङका लागि समेत छात्रवृत्तिको आवेदन खुलाइएको छ ।

त्यस्तै प्रि-डिप्लोमा तहमै सर्भे इन्जिनियरिङ,  कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, रेफ्रिजिरेसन एन्ड एयर कन्डिसनिङ इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, कुलिनरी आर्ट, इन्टरप्रेनरशिप डेभलपमेन्ट, सोसल मोबिलाइजेसन र कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटरियल म्यानेजमेन्ट कार्यक्रममा पनि निःशुल्क छात्रवृत्ति कोटा छुट्याइएको छ । 

 

साउन १५ देखि खुला हुने अनलाइन आवेदन फारामका लागि डिप्लोमा तथा प्रमाणपत्र तहको एक हजार रुपैयाँ र प्रि-डिप्लोमा तहको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ । जुन कनेक्ट आईपीएसको डाइरेक्ट अनलाइनबाट भुक्तानी गर्नुपर्नेछ । आवेदनमा रोजिएको जिल्ला भित्र परीक्षा केन्द्र रहने परिषद्‌ले जनाएको छ ।

आवेदन दिन पाउने योग्यता

एसएलसी तहको परीक्षामा ६८.३३ प्रतिशत तथा एसईईमा गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड तथा अन्य विषयमा न्यूनतम डी ग्रेड प्राप्त गरी २ जीपीए ल्याएका विद्यार्थीहरूले सीटीईभीटीको छात्रवृत्तिका लागि आवेदन दिन पाउने बताइएको छ । 

प्रि-डिप्लोमा तहका लागि एसएलसी वा सो सरहको परीक्षा तथा एसईईमा न्यूनतम ई ग्रेड प्राप्त विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन पाउनेछन् ।

 

कसरी भर्ने अनलाइन आवेदन ?

  • सुरुमा सीटीईभीटीको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) अथवा सीटीईभीटी परीक्षाको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा जानुहोस् ।
  • त्यसपछि त्यहाँ रहेको ‘क्लासिफाइड अनलाइन फर्म’ (Classified Online From) मा क्लिक गर्नुहोस् ।
  • अब आफूले अध्ययन गर्न चाहेको एउटा स्तर डिप्लोमा तथा पीसीएल वा प्रि डिप्लोमा मध्ये आफूले आवेदन दिन चाहेको तह छनौट गरी ‘न्यु युजर’ (New User) मा क्लिक गर्नुहोस् ।
  • आफ्नो नाम, थर र मोबाइल नम्बर राख्नुहोस् र ‘प्रोसिड’ (Proceed) मा क्लिक गर्नुहोस् ।
  • त्यसपछि शुल्क जम्मा गर्न ‘पे नाउ’ (Pay Now) छनौट गर्नुहोस् र त्यसका लागि सम्बन्धित कम्पनी रोजेर पुनः ‘प्रोसिड’ (Proceed) मा क्लिक गर्नुहोस् ।
  • शुल्क जम्मा भएको प्रमाणिकरण पश्चात आप्नो पासवर्ड तयार गर्नुहोस् र त्यसपछि ‘क्लासिफाइड स्कलरशिप अनलाइन एप्लिकेसन फर्म’ (Classified Scholarship Online Application Form) खुल्छ ।
  • त्यसपछि अनलाइन आवेदन फाराममा उल्लेखित आवश्यक विवरण भर्दै जानुहोस् ।
  • आवश्यक कागजात अपलोड गर्दा जेपीजी फाइल फर्म्याट रहेकोमा ध्यान दिनुहोस् । जसमा पासपोर्ट साइजको रङ्गिन फोटो ८ केबीदेखि ५० केबीसम्मको फाइल साइज भएको ३५ बाई ४५ एमएम कायम राख्नुहोस् । हस्ताक्षरको फोटो साइज ३ केबीदेखि २० केबी भित्र सीमित गर्नुहोस् । त्यस्तै अन्य आवश्यक कागजातको साइज ८० केबीदेखि ३०० केबी बीचमा सीमित गर्नुपर्ने हुन्छ ।
  • विद्यार्थी स्वयम्‌ले प्रक्रिया पूरा गरी छात्रवृत्तिका लागि भरेको अनलाइन आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृत भएपछि तत्कालै प्रिन्ट गर्न सकिने बताइएको छ । सो प्रिन्ट गरिएको प्रवेश पत्र प्रवेश परीक्षा र शिक्षालयमा भर्ना हुनका लागि आवश्यक पर्ने भएकाले सुरक्षित राख्नुपर्ने हुन्छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको सूचना

प्रि-डिप्लोमाका लागि