तपाईँ हामीले क्रिप्टोकरेन्सीको बारेमा त बेलाबखत सुन्दै आएका छौँ । तर के कहिल्यै ‘क्रिप्टो ज्याकिङ’को बारेमा सुन्नु भएको छ ? आज हामी यसै विषयमा चर्चा गर्दै छौँ ।

 

वास्तवमा क्रिप्टो ज्याकिङ एक प्रकारको साइबर अपराध हो । पछिल्ला दिनहरूमा ‘क्रिप्टो ज्याकिङ अट्याक’ शब्द निकै चर्चामा आउन थालेको छ ।

‘क्रिप्टो ज्याकिङ’ एक प्रकारले तपाईँसँग रहेको बिटक्वाइन चोरी हुनु हो । तर यसो भन्दै गर्दा तपाईँको मनमा पक्कै पनि आफूसँग हुँदै नभएको बिटक्वाइन कसरी चोरी हुनसक्छ भन्ने प्रश्न उब्जिन सक्छ ।

 

अब यहाँनिर क्रिप्टोकरेन्सी कसरी बनाइन्छ, त्यसको प्रक्रिया कस्तो हुन्छ भन्नेतर्फ लागौँ ।

 

बिटक्वाइन होस् वा अन्य क्रिप्टोकरेन्सी, त्यसलाई बनाउने प्रक्रियालाई क्रिप्टो माइनिङ अर्थात् क्रिप्टो उत्खनन भन्ने गरिन्छ । यसो भन्दै गर्दा फलाम खानीबाट फलाम निकालेजस्तै बिटक्वाइनको पनि जमिनमुनि त्यस्तै खानी हुन्छ होला भन्ने नठान्नुहोस् ।

यसका लागि कम्प्युटरमा ‘प्रोग्राम रन’ (कम्प्युटर प्रोग्राम सञ्चालन) गरिन्छ । सजिलोगरी बुझ्दा कम्प्युटरको दिमागी क्षमता एक प्रकारले अङ्कगणितको हिसाबकिताब गरेर क्रिप्टो माइनिङमा प्रयोग गरिन्छ ।

यहाँनिर भन्न खोजिएको यति मात्र हो कि, क्रिप्टो माइनिङ वा उत्खनन् कम्प्युटरभित्र हुने गर्दछ । क्रिप्टो माइनिङमा त्यस्तो प्रोग्रामिङ समावेश हुन्छ, जुन हुबहु पुनः तयार पार्न वा कसैले नक्कल गर्न सक्दैन ।

यस्तो प्रग्रामिङका दौरान कयौँ ल्यापटप तथा कम्प्युटर घण्टौँ घण्टौँसम्म सञ्चालन गर्नुपर्ने हुन्छ । यसरी लामो समयसम्म विभिन्न कम्प्युटरभित्र प्रोसेसिङको काम चल्ने गर्दछ । त्यसको परिणाम स्वरूप कुनै क्रिप्टोकरेन्सी तयार हुन्छ ।

 

यो प्रक्रियामा कम्प्युटरले बिजुली र इन्टरनेट खपत गर्दछ । अब तपाईँको कम्प्युटर वा ल्यापटपलाई कुनै ह्याकरले क्रिप्टो माइनिङका लागि प्रयोग गरिदियो भने के होला ?

ह्याकरहरूले फिशिङ मार्फत लिङ्कहरू पठाइरहेका हुन्छन् । त्यस्ता लिङ्कमा क्लिक गर्ने वित्तिकै ह्याकरले तपाईँको ल्यापटप वा कम्प्युटरमा पहुँच बनाउन सक्छ । यसरी ह्याकरले तपाईँको ल्यापटप वा कम्प्युटरमा समेत क्रिप्टो माइनिङ गर्न सक्छन् ।

ह्याकरले एक वा दुई ल्यापटप तथा कम्प्युटरमा नभई विभिन्न स्थानमा रहेका हजारौँ प्रयोगकर्ताका ल्यापटप तथा कम्प्युटर क्रिप्टो माइनिङमा लगाइदिन्छन् । हो यसरी अन्य व्यक्तिको कम्प्युटरमा क्रिप्टोकरेन्सी माइनिङ गर्ने अवैधानिक कार्यलाई नै क्रिप्टो ज्याकिङ भन्ने गरिन्छ ।

यसको आधारमा संक्षिप्त रूपमा भन्नुपर्दा क्रिप्टोमाइनिङ वा क्रिप्टोकरेन्सी चोरी गर्ने दुर्भावनाको एउटा प्रकारको रूपमा क्रिप्टोज्याकिङलाई बुझ्न सकिन्छ । यदि ह्याकरले यसरी  क्रिप्टोमाइनिङ गरिरहेको छ भने तपाईँको कम्प्युटर स्लो हुन पुग्छ । 
https://unelma.io/MMS6z