अब सहकारी संस्थाहरूले पनि एटीएम कार्ड जारी गर्नसक्ने भएका छन् । आफ्ना बचतकर्ताहरूको सहजताका लागि सहकारी संस्थाहरूले एटीएम जारी गर्न सकिने गरी राष्ट्रिय सहकारी बैंकको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले शुक्रबार ‘कोप’ कार्ड सार्वजनिक गरेको हो ।

यो सँगै सबै सहकारीले एउटै सिस्टममा आधारित एटीएम कार्ड प्रयोग गर्न सक्नेछन् । सहकारीले जारी गरेको कोप कार्ड जुन सुकै बैंकको एटीएममा प्रयोग गर्न सकिने छ । तर, ग्लोबल आईएमई बैंकको एटीएमबाट कारोबार गर्दा भने कुनै शुल्क नलाग्ने जनाइएको छ ।

सहकारीको एटीएम कार्डबाट कारोबार हुने रकको सेटलमेन्ट बैंकको रुपमा ग्लोबल आईएमई बैंक रहेको छ । त्यो हुँदा ग्लोबल आईएमईको एटीएमबाट कारोबार गर्दा कुनै शुल्क नलाग्ने एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण भुजुले बताएका छन् ।

एससीटीले विगत केही समय अगाडि देखि सय भन्दा बढी सहकारीलाई कार्ड सेवा उपलब्ध गराउँदै आएको थियो । तर, त्यसलाई व्यवस्थित र अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्‍याउने उद्देश्यका साथ यसको सुरुवात गरिएको हो ।

राष्ट्रिय सहकारी बैंकसँगको सहकार्यमा एउटै ब्राण्ड ‘कोप’ को रुपमा यसलाई अघि बढाइएको जनाइएको छ । कम्पनीका अनुसार यी कार्य अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्ट्याक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम/पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ ।