काठमाडौं । साझा यातायातले इन्धन गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने तयारी थालेकाे छ । यसका लागि पहिलाे चरणमा कम्पनीले आफ्नै इन्धन गाडीलाई विद्युतीय बनाउने भएकाे छ ।

 

यो परीक्षण सफल भए अन्य सवारीलाई पनि विद्युतीय सवारीमा रुपान्तरण गर्ने लक्ष्य राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्रराज पाण्डेले बताए ।

‘अहिलेलाई हाम्रै एउटा गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्नेछौं । यदि त्यो सफल भएमा अन्य सवारीलाई पनि रुपान्तरण गर्नुका साथै इन्धन गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नसक्छौं,’ उनले टेकपानालाई बताए ।

 

यसका लागि कम्पनीले विद्युतीय कन्भर्जन किट अर्थात् इन्धन गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक सामग्रीहरू खरिद गर्न टेन्डर आह्वान गरेको छ ।

 

कम्पनीले एक लाख ७० हजारको टेन्डर आह्वान गरेको हो । टेन्डरमा कम्पनीले विद्युतीय पर्पल्सन प्रणाली, ब्याट्री, कन्ट्रोलर र अन बोर्ड चार्जर खरिदका लागि उक्त टेन्डर आह्वान गरेको हो ।

पछिल्लो समयमा साझा यातायातले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

कम्पनीले हालै चीनमा निर्मित तीन ओटा विद्युतीय बस ल्याएर सार्वजनिक सवारीको रुपमा सञ्चालनमा पनि ल्याइसकेको छ भने अर्डर गरिएका अन्य विद्युतीय बस निर्माणका क्रममा रहेको पाण्डले जानकारी दिए ।

https://unelma.io/ZUxzw