सरकारले एक वर्षभित्र सिंहदरबारभित्रका सबै कार्यालयको काम एउटै सूचना प्रणालीबाट गराउने भएको छ । देशको केन्द्रीय प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरबारका काम छिटो, छरितो र पारदर्शी बनाउन चालू आर्थिक वर्षभित्र सबै कार्यालयमा यस्तो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो ।

 

यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउन थालेको 

हाल सञ्चार मन्त्रालय मातहतका १५ निकायले यो प्रणालीमार्फत काम थालनी गरिसकेकाे विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले जानकारी दिए ।

 

‘सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग, हुलाक सेवा विभाग, मुद्रण विभाग, सूचना तथा प्रसारण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय लगायतमा यो प्रणाली लागू भइसकेको छ, श्रेष्ठले टेकपानासँग भने, ‘एक वर्षभित्र सिहंदरबारका हरेक कार्यायलमा प्रयोगमा ल्याउने गरी काम थालेका छौं । त्यसपछि सिहंदरबारबाहिरका कार्यालयमा यो प्रणाली लैजान्छौं ।’

हालसम्म ५२ निकायलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणालीसम्बन्धी तालिम दिएको र ३१ निकाय प्रणालीमा आबद्ध भइसकेकाे उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले ‘सरकारी निकाय सञ्चालन सम्बन्धी एकीकृत विद्युतीय प्रणाली निर्देशिका २०७८’ पारित गरेसँगै सबै कार्यालयलाई एकीकृत प्रणाली प्रयोग गर्न सर्कुलर जारी गरिएको उनले बताए ।

यो प्रणालीअन्तर्गत हाल दर्ता चलानी, टिप्पणी, ई-हाजिरी लगायतका सेवा सञ्चालनमा छन् । श्रेष्ठले आवश्यकता अनुसार अन्य सुविधा थपिने उल्लेख गरे ।

‘अरु सुविधा कस्टमाइज गर्न सकिने गरी सिस्टम तयार पारेका छौं,’ उनले भने ।

यसका लागि विभागले कार्यालयहरुलाई निःशुल्क सिस्टम वितरण गर्ने उनकाे भनाइ छ । ‘हामीले एडमिन युजरनेम र पासवर्ड दिन्छौं, उहाँहरु आफैंले चलाउनुहुन्छ । यो सिस्टम प्रयोग गर्न छुट्टै पैसा तिर्नुपर्दैन,’ उनले भने ।
https://unelma.io/wpmvZ