अर्थमन्त्री जनार्दन शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रकाे सहयाेग मागेका छन् ।

 

सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई कारखाना सञ्चालनका लागि आवश्यक अध्ययन गर्न आग्रह गरे ।सरकारले कृषि औजार कारखाना सञ्चालन गर्ने निर्णय गरेकाले कारखानाकाे हालकाे अवस्था र सञ्चालन याेजनाबारे अध्ययन गर्न मन्त्री शर्माले आग्रह गरेका थिए ।

कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउन र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविष्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको उनले सुनाए ।

आविष्कार केन्द्रका अध्यक्ष पुनले कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालमा ल्याउन सके नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणको उत्पादन गर्न, मर्मत सम्भार गर्न तथा नयाँ औजार उपकरणहरुको आविष्कार गर्न सकिने भनाइ राखे ।

कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्रसमेत बनाउने अर्थ मन्त्रीको योजनाप्रति पुनले आफ्नो समर्थन जनाएका थिए ।

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुनेगरी आधुनिकीकरण गर्न सकिने पुनको भनाइ थियो ।

अर्थमन्त्री शर्माले आविष्कार केन्द्रको अध्ययनको सुझावअनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताएका छन् ।
https://unelma.io/UJVkq