अनावश्यक एप फोनमा राख्नुभन्दा हटाउनु नै उपयुक्त हुन्छ । कतिपय अवस्थामा हामीले कुनै पनि ट्रेन्डलाई पछ्याएर नयाँ एप डाउनलोड गरिरहेका हुन्छौँ । कहिलेकाहिँ एप कस्तो होला भन्ने जान्न पनि इन्स्टल गरेका हुन्छौँ ।

त्यस्ता एप केही समय प्रयोग गरेपनि पछि डिभाइसमा काम नहुँदा वा एप अनावश्यक भएको महसुस गर्दै अनइन्स्टल गरिरहेका हुन्छौँ ।

फोनबाट त्यस्ता एप सजिलै अनइन्स्टल गर्न सकिन्छ । तर एप डिलिट गर्नुअघि केही कुरा विचार गर्नुपर्ने हुन्छ ।

कतिपय अवस्थामा हामीले एप अनइन्स्टल गरिसकेपछि अब त्यसमा हाम्रो कुनै काम छैन भन्ने सोचेर निर्धक्क बसेका हुन्छौँ ।

तर फोनको ब्याकग्राउन्डमा त्यसको अवशेष लुकेर बसेको हुन्छ, जसले गर्दा त्यसले डिभाइसमा समस्या निम्त्याउनुका साथै विभिन्न सुरक्षा जोखिम छोडेर गएको हुन्छ ।

आज हामी फोनको डेटा तथा विवरण सुरक्षित राख्न एप अनइन्स्टल गर्नुअघि के-के कुरामा ध्यान दिने भन्ने विषयमा जानकारी दिँदै छौँ ।

हामीले हाम्रो काम सहज बनाउनका लागि फोनमा विभिन्न एप डाउनलोड गरिरहेका हुन्छौँ । यी एपले हामीलाई सुविधा दिएपनि सँगसँगै डेटा चोरी हुने जोखिम पनि बढाएका हुन्छन् ।

हामीले कतै देखेको भरमा एप परीक्षण गर्न वा कसैले भनेको भरमा एप डाउनलोड गरेका हुन्छौँ । ती एप कति भरपर्दो छन् भन्ने कुरा पहिचान नगरी सोझै अनइन्स्टल गर्दा त्यसले डेटा चोरी हुने वा फोनमा समस्या आउने जोखिम बढाउँछ ।

कुनै पनि एप हटाउने बित्तिकै त्यसमा भण्डारण भएका तपाईँका डेटा स्वतः हट्छन् भन्ने हुँदैन । त्यसैले एप डिलिट गर्नुअघि यस्ता विविध कुरा सोच्नुपर्ने हुन्छ ।

एप हटाउनुअघि यी ४ कुरामा ध्यान दिनुहोस्

सबैभन्दा पहिले एपमा भएका डेटा डिलिट गर्नुहोस्

हरेक एपमा भएका डेटा डिलिट गर्ने भिन्नाभिन्नै विधि हुन्छन् । तपाईंले कुनै पनि एपको डेटा डिलिट गर्नुपर्ने भयो भने एपको ‘प्राइभेसी’मा गएर, ‘अकाउन्ट सेटिङ’ वा ‘सेक्युरिटी’मा गएर डेटा डिलिट गर्न सक्नुहुन्छ ।

त्यस्ता डेटा एपको हिस्ट्रीमा गएर बस्ने भएकाले त्यहाँबाट पनि हटाउन सकिन्छ ।

 

डिलिट गर्नुपर्ने सो एपको ब्राउजरमा लगइन गर्नुहोस्

कतिपय साइटको एपमा भएका डेटा त्यसरी हिस्ट्रीमा त्यहाँबाट हटाउँदा पनि नहट्न सक्छन् ।

त्यसका लागि तपाईंले त्यसको वेब भर्जनबाट लगइन गरी आफ्ना डेटा हटाउन सक्नुहुन्छ ।

एपभन्दा वेब भेर्सनमा केही फिचर बढी हुने भएकाले साइटमा भण्डारण भएका डेटा त्यसरी पनि हटाउन सकिन्छ ।

फेसबुक वा गुगल अकाउन्ट लिङ्क भएका छन् भने अनलिङ्क गर्नुहोस्

कतिपय एपमा हामीले फेसबुक वा गुगल अकाउन्ट प्रयोग गरी लगइन गरेका हुन्छौँ । केही समय परीक्षणका लागि लगइन गरेका त्यस्ता एप सोझै अनइन्स्टल गर्दा त्यस्ता साइटले हाम्रो फेसबुक वा गुगल अकाउन्ट प्रयोग गरिरहेका हुन सक्छन् ।

त्यसैले यदि कुनै एपमा फेसबुक, गुगल, ट्वीटर वा अन्य कुनै अकाउन्ट प्रयोग गरी लगइन गरिएको छ भने त्यस्ता साइटबाट अकाउन्ट अनलिङ्क गर्नुपर्ने हुन्छ ।

यसका लागि सो एपको सेटिङमा गई ‘लिङ्क्ड अकाउन्ट’ भन्ने सेक्सनमा गएपछि लिङ्क भएका अकाउन्ट हटाउन सकिन्छ ।

यदि तपाईंले केही गरी आफ्नो डेटा डिलिट गर्न सक्नुभएन भने सो एपको ‘कस्टमर सर्भिस’लाई सम्पर्क गरी आफ्नो डेटा हटाउन अनुरोध गर्न सकिन्छ ।

यसरी आफ्ना डेटा पूर्ण रूपमा हटाइसकेपछि निर्धक्क एप अनइन्स्टल गर्न सक्नुहुन्छ ।
https://unelma.io/s0Q33