मेयर पद सम्हालेको एक सय दिनको सन्दर्भमा उनले सामाजिक सन्जालमार्फत् सो कुरा बताएका हुन् । तर, एक सय दिनको दौडमा नभई आफूसाग पााच वर्षको योजना रहेको भन्दै उनले आफूहरुप्रतिको विश्वास र समर्थनलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन् ।उनले एक सय दिनभित्र फोहोर व्यवस्थापन गर्ने भने पनि आफूले सोचेजस्तो हुन नसकेको स्वीकार गरेका छन् । ‘तर झण्डै दुई दशकदेखि कुहिएर रहेको रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौं,’ उनले भनेका छन्, ‘यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौं ।’उनले अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने कामबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् । नर्भिक अस्पताल लगायतले निर्माण गरेका अनधिकृत संरचना हटाएको विषयमा उनले लेखेका छन्, ‘जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रुपमा प्रयोग हुनुपर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौं ।’

उनले फुटपाथमा बसेर व्यापार गर्नेहरुलाई हटाउन थालेको कामको सकारात्मक प्रभाव बानेश्वर, असन लगायतका क्षेत्रहरुमा देखिन थालेको पनि उल्लेख गरेका छन् । साथै उनले ई–स्पोर्टसका लागि एक करोड बजेट, यमबुद्धको शालिक स्थापना र मद्यपानको सन्दर्भमा पनि उनले स्पष्टीकरण दिएका छन् ।

कार्यक्रममा मद्यपान र मुकुट परिवर्तनको बुँदामा उनले लेखेका छन्, ‘मान्छे एउटै जीवनभित्र फरक–फरक भूमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिका रुपमा प्रेमिल र साथीहरुसँग जिस्किंदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भूमिकाका लागि अर्को भूमिकाभन्दा विपरीत हुनुपर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोही रुपमा बुझिदिन हुन आग्रह गर्दछु ।’

यससँगै उनले सार्वजनिक व्यक्तित्व भएका कारण आफ्ना कामले समाजमा पार्न सक्ने प्रभावबारे सजग रहेको पनि बताएका छन् ।