२ भदौ २०७८ मा ३१९९.०३ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेप्से २३ भदौ २०७९ मा १९३७.७४ अंकमा झर्‍यो । परिसूचकमा गिरावट हुँदा बजार पूँजीकरणमा १६ खर्ब ८९ अर्ब २ करोड ९९ लाख रुपैयाँको गिरावट आयो ।

२ भदौ २०७८ मा नेप्से ३१९९.०३ अंकमा पुग्दा कुल बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँ पुगेको थियो । २३ भदौ २०७९ मा आउँदा २७ खर्ब ७९ अर्ब ४८ करोड ५५ लाखमा झरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५५ अर्ब ८९ करोड चुक्ता मूल्य बराबरको बोनस सेयर, ११ अर्ब ९७ करोड चुक्ता मूल्य बराबरको हकप्रद सेयर र २३ अर्ब २८ करोड रुपैयाँ चुक्ता मूल्य बराबरको साधारण सेयर सूचीकृत भएको छ ।

करिब ९१ अर्ब भन्दा बढी चुक्ता मूल्य भएको सेयर नेप्सेमा गत आर्थिक वर्षमा थप कम्पनी सूचीकृत हुँदा पनि बजार पूँजीकरण भने करिब १७ खर्बले घट्यो । अर्थात् एक वर्षको अवधिमा सेयर लगानीकर्ताले करिब १७ खर्ब रुपैयाँ सम्पत्ति गुमाए ।

नेपालमा संस्थापक र साधारण धितोपत्रको छुट्टाछुट्टै कारोबार हुने भएपनि बजार पूँजीकरण भने साधारण सेयरको कारोबार मूल्यको आधारमा गणना हुँदै आएको छ ।

बजारको ‘वियरिस साइकिल’ एक वर्ष पूरा हुँदा कारोबार रकम पनि झनै ओरालो लाग्यो । ३१ साउन २०७८ मा एकैदिन २१ अर्ब ६४ करोडको कारोबार भएको बजारमा हाल दैनिक कारोबार रकम १ अर्बबाट पनि तल झर्न थालेको छ ।

२०७८ साउन महिनाको कुल कारोबार रकम करिब ३ खर्ब छ । साउनमा कारोबार भएको २१ दिनमा ६६ करोड ६५ लाख ९९ हजार कित्ता सेयर किनबेच भई २ खर्ब ९१ अर्ब ५७ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

तर २०७९ को साउन महिनामा २६ दिन बजार सञ्चालन हुँदा कारोबार रकम ७२ अर्ब ६१ करोड ६१ लाखमा सीमित भयो । अझै भदौ लागेपछिको कारोबार रकम दैनिक १ अर्ब हाराहारीमा मात्रै सीमित रहेको छ ।

कोभिडपछि बढेको उत्साह

कोभिड–१९ महामारीअघि दोस्रो बजारमा नियमित कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या १२ देखि १५ हजार रहेको नेप्सेका अधिकारीहरु बताउँछन् । चैत २०७६ बाट कोभिड–१९ महामारी नियन्त्रणका लागि भएको लकडाउन सँगै सेयर बजार पनि बन्द भयो । जेठ २०७९ मा २ घण्टा मात्रै कारोबार गर्नेगरी भन्दै २ दिन बजार सञ्चालन भएपनि पूर्ण अनलाइन कारोबार सञ्चालन नभएको भन्दै कारोबार बन्द भएर १५ असार २०७९ देखि कारोबार खुलेको थियो ।

कोभिड–१९ का कारण बन्द भएर कारोबार खुलेको पहिलो दिन नेप्सेमा गिरावट भएपनि त्यसपछि करिब १२०० अंकको बिन्दुबाट लगातार नेप्सेमा वृद्धि भएको थियो । मंसिर २०७७ मा ४ वर्ष अगाडिको १८८१ अंकको रेकर्ड तोड्दै बजार परिसूचक उकालो लागेको थियो ।

आर्थिक गतिविधि ठप्प हुनु, रोजगारी प्रभावित हुनुका साथै वर्क फ्रर्म होमको व्यवस्थाले गर्दा कोभिड–१९ को महामारीको अवधिमा सर्वसाधारणको सेयर बजारप्रति आकर्षण ह्वातै बढ्यो । जसले गर्दा कोभिड अगाडि ३/४ लाखको मात्रै आवेदन पर्ने प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिनेको संख्या २७/२८ लाखसम्म पुग्यो ।

प्राथमिक बजार मात्रै होइन दोस्रो बजारमा पनि लगानीकर्ताको उच्च आकर्षण भयो । पर्याप्त लगानीयोग्य स्रोत र लगानीका अन्य अवसर नहुँदा बैंकहरुले पनि सेयर आफैं र सेयर धितो कर्जामार्फत प्रशस्त लगानी बढाए । उद्योगी व्यापारीले पनि व्यापार ब्यवसाय सुस्त हुँदा चालुपूँजी समेत सेयर बजारमा लगानी गरेर आम्दानीको स्रोतको रुपमा परिचालन गरे । सेयर कारोबार गर्नेमा गृहिणी महिलाको संख्या पनि उत्तिकै बढ्यो ।

जसले गर्दा करिब १३ महिनाको अवधिमा १२०० नजिक रहेको नेप्से बढेर २ भदौ २०७८ मा ३२०० को नजिक पुग्यो । यो अवधिमा कारोबार रकम र नेप्से मात्रै बढेन सक्रिय लगानीकर्ताको संख्या पनि सोही दरमा बढ्यो । सेयर बजार ‘बुलिस ट्रेन्ड’मा रहेको बेला एक दिनमै १ लाख ३५ हजारसम्म लगानीकर्ताले कारोबार गरेको नेप्सेका अधिकारीहरु बताउँन् ।

अनलाइन कारोबार प्रणालीका कारण एकै पटक ठूलो संख्यामा लगानीकर्ताले कारोबार गर्न सक्ने हुँदा पनि नेप्से बढ्न सहयोग पुगेको धितोपत्र दलाल व्यवसायीहरुको तर्क थियो ।

कोभिडपछि अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिनेको संख्या पनि बढेर हाल १३ लाख नाघेको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । कोभिड–१९ अगाडि केही हजारमा रहेको उक्त संख्या कोभिडसँगै बढेको डिजिटल ट्रेन्डले सकारात्मक भूमिका खेल्यो ।
https://unelma.io/ewxQU