काठमाडौं । पछिल्लो केही महिना यता निरन्तर रुपमा बढ्दै आएको डिजिटल कारोबारको वृद्धि रोकिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार संख्या र रकम दुबै घटेको हो । तर, सँगै क्यूआर भुक्तानी भने बढेको छ ।

 

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७९ साउनमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार संख्या अघिल्लो महिनाको तुलनमा २८ लाख ८५ हजार ९२० ले घटेको छ । कारोबार रकम एक खर्ब १२ अर्ब रुपैयाँले घटेको छ ।

 

जसमा सबैभन्दा बढी कनेक्ट आईपीएसबाट हुन कारोबार घटेको तथ्याङ्कले देखाएको छ । एक महिनाकै अवधिमा कनेक्ट आईपीएसमार्फत कारोबार संख्या करिब ८ लाखले घटेको छ । राष्ट्र बैंकका अनुसार गएको असारमा कनेक्ट आईपीएस प्रयोग गरी ४२ लाख ७० हजा भन्दा बढी ओटा कारोबार भएको थियो । साउनमा उक्त संख्या घटेर ३४ लाख ४७ हजार ७ सय ५८ मै सीमित भएको छ ।

 

त्यस्तै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । असारमा ३ खर्ब ६९ अर्ब २२ करोड ३० लाख रुपैयाँ कारोबार भएको थियो । साउनमा कारोबार रकम घटेर दुई खर्ब ६९ अर्ब एक करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।

 

त्यसैगरी, मोबाइल वालेटबाट हुने कारोबार संख्या तथा कारोबार रकममा पनि कमी आएको छ । असोजको तुलनामा साउनमा करिब पाँच लाख ओटा कारोबार घट्दै एक करोड ५७ लाख ६१ हजारमा सीमित भएको छ । कारोबार रकम १७ अर्ब ४६ करोड ४० लाख रुपैयाँमात्रै भएको छ । जुन असारको तुलनामा झन्डै ३० करोड रुपैयाँ कम हो ।

 

यसअघि असारमा एक करोड ६२ लाख ६ हजार ओटा कारोबारबाट १७ अर्ब ७५ करोड २० लाख रुपैयाँ वालेटबाट कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै, मोबाइल बैंकिङबाट हुने कारोबार संख्या र रकम पनि घटेको छ ।

असारमा मोबाइल बैंकिङ प्रयोग गरी दुई करोड ५ लाख ६४ हजार ओटा कारोबारमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ कारोबार भएकोमा कात्तिकमा १ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ मात्रै कारोबार भएको छ । यो अवधिमा कूल दुई करोड १८ हजार ओटा कारोबार भएको छ ।

कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, वालेट र इन्टरनेट बैंकिङबाट हुने कारोबार घटेको भएपनि क्यूआर भुक्तानी भने केही हदसम्म बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । असार महिनामा क्यूआर स्क्यान गरी ४२ लाख ८१ हजार ९ सय ९९ ओटा कारोबारबाट १४ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो ।

 

उक्त कारोबार साउनमा बढेर १४ अर्ब ८१ करोड ७० लाख रुपैयाँ भएको छ । यो अवधिमा कूल ४७ लाख ७२ हजार ५६ पटक क्यूआर स्क्यान गरी भुक्तानी भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

https://unelma.io/nXzrC