काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट, आईपीटिभी र राउटर एउटै प्याकेज बनाएर बिक्री गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो निर्णय गरेको हो । 

हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा लगायत अन्य सेवा समेत प्रदान गर्दै आइरहेका छन् । यसरी इन्टरनेट सेवा बाहेक अन्य सेवाहरू सञ्चालन गर्ने क्रममा इन्टरनेट सेवा, आईपीटिभी सेवा र ओएनयू  (Optical Network Unit) तथा राउटरको प्याकेज बनाई केहि सेवा निःशुल्क (Free of Cost) प्रदान गर्ने गरि बण्डलिङ (Bundling) गरी प्रचार प्रसार गरेको पाइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ | यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भिर असर पुग्न जाने प्राधिकरणको भनाइ छ । त्यसबाट क्रस सब्सीडी (Cross Subsidy) हुने भन्दै कानूनी व्यवस्था विपरीत बण्डलिङ जस्ता गैरकानूनी कार्य नगर्न दूरसञ्चार सेवा प्रदायकलाई सचेत गराएको छ ।

 

यो भन्दा अगाडि पनि प्राधिकरणले यसरी सेवा बिक्री नगर्नको लागि आह्वान गरेको थियो भने इन्टरनेट सेवाप्रदायक संघ नेपालले पनि यो विषयमा सेवा प्रदायकहरूलाई ताकेता गरेको थियो । यद्यपि सेवाप्रदायकले प्याकेजमा सेवा बिक्रीलाई निरन्तरता दिइरहेको छ । 

"दूर सञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरूले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने र स्वच्छ व्यापार गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ । साथै कुनै पनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई एक सेवाबाट प्राप्त आय क्रस सब्सिडीको रूपमा अर्को सेवामा प्रयोग गर्न समेत निषेध गरेको छ । यदि त्यस विपरित कार्य गरेको पाइएमा कारबाही गरिनेछ," प्राधिकरणको सूचनामा भनिएको छ, "विद्यमान कानूनी व्यवस्था विपरीत गैरकानूनी रूपमा बण्डलिङ गरी सेवा सञ्चालन गरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गरिने व्यहोरा रहेको समेत सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकलाई यसै सूचनाद्वारा अवगत गराइन्छ |"

https://unelma.io/QGxeS