सरकारले नारायणगढ-बुटवल सडकखण्ड विस्तारमा चरम ढिलाइ भएपछि ठेकदार कम्पनीसँगको ठेक्का तोड्ने चेतावनी दिएको छ । काम सकिनुपर्ने अवधिमा १८ प्रतिशत मात्रै काम भएको र कामको गति ज्यादै सुस्त भएको भन्दै सडक विभागले आइतबार एक सार्वजनिक सूचनामार्फत यस्तो चेतावनी दिएको छ । या सूचनासँगै ठेक्का तोड्न प्रक्रिया अघि बढेको आयोजना अधिकारीहरुले बताएका छन् ।

विभागले ५ कात्तिकभित्र कार्यशैली नसुधारेमा ठेक्का ‘रद्ध’ गर्ने चेतावनी दिएको छ । यो सडक खण्डको विस्तारका लागि बनाइएको दुबै प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हात पारेको छ ।

विभागले एक वर्षदेखि ठेकदार कम्पनीको कामको नजिकबाट सुरपरीवेक्षण गरिएको भन्दै सारभूत रुपमा आयोजनामा काम नै नभएको बताएको छ । तोकिएको लक्ष्यअनुसार ठेकदारले काम नगरेको भन्दै दुबै प्याकेजका आयोजनाहरुले ठेकदारबाट काम गर्ने तयारी समेत भएको नेदेखिएको ठहर गरेका छन् ।

दुबै आयोजनाहरुले ठेकदार निरन्तर रुपमा कामको गति बढाउन असफल रहेको भन्दै समयमै काम सकिने विश्वास गर्ने खालको वातावरण नरहेको उल्लेख गरेका छन् । खरिद सम्झौताअनुसार चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २२ साउन २०७९सम्म आयोजनाको सबै काम सक्नुपर्ने थियो ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापा काममा ढिलाइ गरिरहेको कम्पनी र कम्पनीका प्रतिनिधि समेत विभागको सम्पर्कमा नरहेको बताउँछन् । ‘सडकको हालत खराब छ, ठेकदारले सडक मर्मत समेत गरेको छैन,’ उनी भन्छन्,’कम्पनीको उच्चस्तरीय टोली नेपालमा रहँदा पनि विभागसँग छलफलमा आएन, यस्तो अवस्थामा यही ठेकदार कम्पनीमार्फत आयोजनाको निर्माण समयमै सकिनेमा विश्वस्त हुन सकेनौं ।’

उनका अनुसार समस्या सल्टाउनुपर्नेमा कम्पनी स्थानीय रुपमा भुक्तानी गर्नुपर्ने रकम समेत नतिरी सम्पर्कबाहिर गएकाले आयोजना समस्याग्रस्त बनेको हो । आफूहरुले जति पहल र प्रयास गर्दा पनि प्रगति नभएपछि थप कदम चाल्नुपर्ने अवस्था आएको महानिर्देशक थापाको भनाइ छ ।

सुरुमा विद्युतका पोल सार्ने, रूख काट्नुपर्ने र कोरोना महामारी लगायतका कारणले काममा ढिलासुस्ती भएको थियो । तर, त्यसपछि पनि ठेकेदारले काम गर्ने जाँगर नदेखाएको सडक विभागका अधिकारीहरु बताउँछन् ।

नारायणगढ-बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज-१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज-२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम हुँदैछ ।

ठेकेदारले सडक भत्काएर अलपत्र छाड्दा सो सडकखण्डमा दुर्घटना हुनेदेखि यात्रा गर्न निकै सास्ती भोग्नुपरेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ ।

गैंडाकोट-दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । तर, करिब ४ वर्षसम्म आयोजनाले सडक भत्काएर अलपत्र पार्ने काम मात्रै गरेको छ ।

यही ठेकदारले सिद्धबाबा सुरूङमार्ग र द्रुतमार्गको सुरूङमार्ग पनि बनाउने जिम्मा पाएको छ । तर, ती आयोजनामा पनि यो ठेकदारले ढिला गरेर काम गरिरहेको छ ।\
https://unelma.io/pX5CR