बुधबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा काठमाडौं महानगरपालिकाको टोली कालीमाटी-कुलेश्वर क्षेत्रको बजार अनुगमनमा पुग्दा अनौठो दृश्य देखियो । अनुगमन टोली कालीमाटी क्षेत्रमा पुग्दा-नपुग्दै ‘जय दुर्गा स्टोर्स’मा हतार-हतार सटर लाग्यो र ताल्चा ठोकियो । मुकेश खाद्य स्टोर्स पनि त्यसैगरी बन्द भयो ।  कतै आधा सटर तानेर व्यवसायीहरु चिहाइरहेका थिए ।

अनुगमन टोली आएको थाहा पाएलगत्तै यही शैलीमा धेरै पसलका सटरहरु बन्द भए । तर, रोचक के देखियो भने धमाधम सटर लाग्दा पनि अनुगमन टोली मूकदर्शक बन्यो । कुनै एक्सन लिन अघि सरेन ।

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको छ । तर, महानगरको अनुगमन कर्मकाण्डी मात्रै देखिएको छ । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गर्दा पनि अनुगमन टोलीअघि व्यापारीहरू हाबी देखिए ।

अनुगमन टोलीकै अघि हाक्काहाक्की सटर लाग्दा पनि  तत्काल कारबाही गर्न महानगरको टोली अग्रसर देखिएन । महानगरकी उपमेयर डंगोलको नेतृत्वमा बजार अनुगमन भइरहँदा व्यापारीहरु नै सटर बन्द गरेर रमिता हेरिरहेका थिए ।
https://unelma.io/9K5kl