२४ असोज, बारा । बाराबाट प्रहरीले ठूलो परिणाममा नक्कली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार राज्यका २५ वर्षीय रञ्जित कुमार मुखिया, बारा कलैया उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीय सैनुल्लाह अंसारी, बारा सिम्रौनगढ नगरपालिका–२ बस्ने ३६ वर्षीय बिनाका मुखिया बिनलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ९ लाख रुपैयाँको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । असोज २१ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले सिम्रौनगढ –५ कनकपुर टोलबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

सुरुमा प्रहरीले रञ्जितले कम्मर पेटीको भागमा लुकाएर ल्याएको नेपाली १ हजार दरका नोटको १ ठेली र उसले चलाएर आएको मोटर साइकलको सिट मुनीबाट ८ ठेली गरी ९ ठेली नक्कली जस्तो देखिने ९ लाख नोट फेला पारेको थियो ।

उनीसँग सोधपुछ गर्दा उक्त नोट सैनुल्लाह र बिनाकाले मगाएको भनी उनले बयान दिएका थिए । त्यसपछि असोज २३ गते प्रहरीले उनीहरु दुवैजनालाई पक्राउ गरेर ल्याएको थियो । प्रहरीका अनुसार बिनाका यसअघि पनि जाली नोटको कारोबार गरेको आरोपमा दुई पटक पक्राउ परिसकेका व्यक्ति हुन् ।

नक्कली नोटको कारोबारमा गिरोह नै संलग्न हुन सक्ने आशंकामा गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘नक्कली नोट सप्लाई गर्ने, ओसार्ने र बजारमा पठाउने मानिस पक्राउ परिसकेका छन् । अन्य थुप्रै मानिसहरुको संलग्नता देखिन्छ’, उनले भने, ‘उनीहरुको सञ्जाल तोड्नेगरि काम अघि बढेको छ ।’

https://www.onlinekhabar.com/2022/10/1202639